घोराही - तुलसीपुर सडक चार लेनको बनाउने काम सुरु

 माघ ७, २०७६ मंगलबार १८:१५:२८ | हेमराज शर्मा
unn.prixa.net

दाङ - प्रदेश नम्बर ५ सरकारले घोराही- तुलसीपुर जोड्ने सडककाे विस्तार कार्य सुरु गरेको छ । संघीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा घाेराही तुलसीपुर सडकलाई चार लेन बनाउने गरी विस्तारकाे काम सुरु गरेकाे हाे । 

पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको सडक विस्तार गरी चार लेन बनाइने भएकाे छ । लमहीदेखि तुलसीपुरसम्मकै सडक विस्तार गरि चार लेनको बनाउने भनिए पनि पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुर सम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो ।

त्यसमध्ये पनि १४. ४ किलोमिटर मात्रै चार लेनको हुनेछ भने बाँकी झण्डै १४ किलोमिटर दुई लेनको हुनेछ । प्रदेश सरकारले घोराही र तुलसीपुरलाई मिलाएर महानगरपालिका बनाउने योजना बनाइरहेको बेला दुई उपमहानगर जोड्ने सडक चार लेनको सडक विस्तार हुनुलाई महत्वपूर्ण कार्यकाे रुपमा लिइएकाे छ । 

सडक विस्तारको काम भने स्थान अनुसारले कतै दुई लेन त कतै चार लेनको हुने भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनियरिङ इन्फ्राप्रोजेक्टका कन्सल्टेण्ट इञ्जिनियर ईश्वरीप्रसाद अम्गाईले बताउनु भयो ।

सन् २०१९ फेब्रुअरीमा नेपाल सरकारसँग ठेक्का सम्झौता भई काम सुरु गरेको भारतीय निर्माण कम्पनीले ३० महिनाभित्र अर्थात सन् २०२१ अगस्टभित्र सडक विस्तारको सबै काम सक्नुपर्ने छ । 

अहिले तुलसीपुरको हात्तिखौवादेखि घोराहीको कपासी बगियासम्मको सडक क्षेत्रमा काम भइरहेको छ । पहिलो चरणमा विशेषगरि ग्याभिन वाल लगाउनु पर्ने तथा विस्तारित सडकको स्ट्रक्चर निर्माणको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

 भारतीय एक्जिम बैंकको सहयोगमा एक करोड २१ लख ८२ हजार अमेरिकी डलर अर्थात २ अर्ब २ करोड रुपियाँको लागतमा फोर लेन सडकको काम सम्पन्न हुनेछ । 

सडक क्षेत्र मानविय अतिक्रमणमा नपरेको तथा बिजुली टेलिफोनका तार र रुख हटाउने प्रकृया सुरु भैसकेकाले सडक बिस्तारको काम निर्धारीत समयमै सकिने सडक अयोजनाका कन्सलटेण्ट ईश्वरीप्रसाद अम्गाईले बताउनु भयो ।

संघीय सरकारको पहलमा सडक बिस्तारको काम भइरहे पनि सडक विस्तारको योजना दाङसहित पाँच नम्बर प्रदेशकै लागि महत्वपूर्ण भएको प्रदेश सरकारले जनाएको छ ।

लमही देखी घोराहीको बबई नदीसम्मको सडक भने तत्काल चार लेन नबन्ने भएको छ । अहिले सञ्चालन भइरहेको सडकलाई विस्तार गर्नुभन्दा विकल्पकको रुपमा नयाँ सडक बनाउदा लागत र प्राविधिक दृष्टिले उचित हुने तर्क उठेपछि सडक विस्तारको काम नभएको हो । 

फोरलेन सडक निर्माण कार्यक्रम अन्तर्गत नै वैकल्पिक सडक निर्माणको लागि अध्ययनसमेत सुरु भएको छ । त्यस सडकखण्डमा ठूला पहाड र घना जंगल पर्ने भएकाले भएको सडकलाई विस्तार गर्नुभन्दा नयाँ सडक निर्माणका लागि सहज हुने भएपछि वैकल्पिक सडक निर्माणको तयारी गरिएको सडक सुधार तथा विस्तार आयोजनाका इञ्जिनियर पारश हमालले बताउनु भयो । 

यसका लागि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पनि दाङका स्थानीय सरकारहरुलाई महेन्द्र राजमार्ग जोड्नेगरी वैकल्पिक मार्ग खोज्न पटक-पटक आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया