एडिलेडविरूद्ध सन्दीप विकेटविहीन : टी-२० मा १०० विकेट पुर्‍याउन अर्काे खेल कुर्नुपर्ने

 माघ ८, २०७६ बुधबार १८:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय टी २० क्रिकेटमा एक सय विकेट पुर्याउन नेपाली बलर सन्दीप लामिछानेलाई अर्काे खेल कुर्नुपर्ने भएको छ । 

बिग ब्याश क्रिकेट लिगमा एडिलेडविरुद्धको खेलमा विकेटविहीन भएपछि सन्दीपलाई विकेटमा शतक बनाउन अर्को खेल कुर्नुपर्ने भएको हो । उनले एडिलेडविरुद्ध २४ रन खर्चिए तर विकेट लिन सकेनन् । उनले आज पुरै चार ओभर बलिङ पनि गर्न पाएनन् ।

सन्दीपले पहिलो ओभरमा ५ रन दिए । टिमको दशौँ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा दुई रन दिए भने दोस्रो बलमा एक तथा तेस्रो बलमा पनि एक रन खर्चिए । चौथो बलमा पनि उनले एक रन दिए । पाँचौ र छैटौँ बल उनले डट राखे ।

त्यसपछि दोस्रो ओभरमा उनले १३ रन खर्चिए । टिमको १२ औँ तथा व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा एक रन दिएका उनले दोस्रो बलमा पनि एक रन खर्चिए । तेस्रो बलमा उनले चौका खान पुगे । उनलाई एलेक्स क्यारीले लेग साइडमा चौका प्रहार गरे ।  त्यसपछि चौथो बलमा सन्दीपको बलमा एलेक्सले छक्का प्रहार गरे । पाँचौ बलमा एक रन दिएका उनले अन्तिम बल डट फाले ।

सन्दीपले ब्यक्तिगत तेस्रो ओभरमा सात रन खर्चिए । टिमको १५ औँ ओभर लिएर आएका सन्दीपले पहिलो बल डट फालेपनि दोस्रो बलमा चौका खान पुगे । त्यसपछि तेस्रो बल डट फालेका उनले चौथो बलमा लेग बाइमा एक रन दिए । पाँचौ बलमा पनि एक रन खर्चिएका सन्दीपले अन्तिम बलमा एक रन दिए ।

सन्दीपले आज दुई विकेट लिएको खण्डमा टी २० मा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । तर उनले बलिङ कसिलो गरे पनि विकेट हात पार्न सकेनन् । टी २० मा सन्दीपले ७३ खेलमा ९८ विकेट पुर्‍याएका छन्। जसमा उनले राष्ट्रिय टिमबाट २८ विकेट लिएका छन भने बाँकी ७० विकेट आइसीसीबाट मान्यता प्राप्त अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगमा लिएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया