६ वर्षदेखि श्रीमान सम्पर्कविहीन : छोराछोरी पाल्न मेलापातको भर

 माघ ९, २०७६ बिहिबार १८:२४:३ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – वैदेशिक रोजगारीका लागि २०७० सालमा भारत जानुभएका खप्तड छान्ना गाउँपालिकाका वीरबहादुर रावत पुगेको केही महिनासम्म परिवारको सम्पर्कमा हुनुहुन्थ्यो । त्यसपछि सम्पर्कविहीन हुनुभयो ।

श्रीमानले परिवारको माया चटक्कै मारेपछि दुई छोरी र एक छोराको लालनपालनको बोझ सुन्तलादेवी रावतको काँधमा आइलाग्यो । सम्पतिको नाममा खरले छाएको सानो झुपडी र पाखो जमिन । जमिनको उत्पादनले दुई महिनाबढी खान नपुग्ने । झुपडी पानी पर्दा चुहिँने । कमाइको अरु स्रोत नभएपछि सुन्तलादेवीलाई चार जनाको परिवार पाल्न धौ–धौ भएको छ ।

‘बिहान बेलुकीको छाक टार्नसमेत कठिनाइ भएको छ । मेलापातबाट ल्याएको चामल, पिठो र दालले पेट पालिरहेका छौँ ’, सुन्तलादेवी भन्नुहुन्छ, ‘श्रीमान् भारत जाँदा जन्मिएकी छोरी ६ वर्षकी भइसकी । उहाँको अत्तोपत्तो छैन, अब फर्किन्नुहुन्न हाेला जस्ताे लाग्छ ।’

शंकालु भाषामा वीरबहादुरले उतै घरजम गरेका हुन् कि भन्ने दुखेको पोख्नुहुन्छ, सुन्तला देवी ।

कान्छी छोरीले बाबा खै भनेर सोध्दा ढाँटेर फकाउनुहुन्छ । नयाँ कपडा, मिठा खानेकुरा र पैसासहित बाबा फर्किनुहुन्छ भन्दै छोरीलाई सम्झाउनुहुन्छ । यस्तो भन्दा सुन्तलादेवीकी छोरी मक्ख पर्छिन् ।

सुन्तलादेवीले छोराछोरीलाई कहिले सिस्नोको फाँडो त कहिले खोले खुवाएर छाक टार्नुहुन्छ ।

‘धेरै पटक आत्महत्या गर्ने कोशिस गरेँ । तर, छोराछोरीको मायाले बचायो । जति दुःख परेपनि खप्नैपर्ने रै छ’, आँखाभरि आँसु पार्दै सुन्तलादेवीले भन्नुभयो ।

उहाँकी १४ वर्षीयf जेठी छोरी सुजनाकाे शारीरिक समस्या छ । उहाँको खुट्टामा सामान्य चोट लाग्दा उपचार गर्ने पैसा नभएर सुजना हिँडडुल गर्न नसक्ने हुनुभयो ।

सुन्तलादेवीले ११ वर्षीय छोरालाई भने कहिलेकाहीँ मात्रै विद्यालय पठाउने गर्नुभएको छ । नत्र आफूसँगै काममा लैजानुहुन्छ ।

चिसोमा आङ ढाक्ने कपडासम्म नभएपछि एक दिन हिँडेर पालिकामा आयोजित कपडा वितरण कार्यक्रममा पुगेर छोराछोरीका लागि न्यायो ब्ल्याङ्केट र लुगा ल्याउनुभयाे । पालिकासम्म जान गाडी चढ्ने पैसा नभएकाले उहाँ हिँडेरै पुग्नुभयो ।

उहाकाे समस्या सुनेपछि एक गैर सरकारी संस्थामा कार्यरत बिना बमले उहाँका छोरा छोरीका लागि भन्दै २३ किलो चामल किनिदिनुभयो । चामलको पोको समात्दै सुन्तलादेवीले भन्नुभयो, ‘महिना दिनको गुजारा टर्ने भयो ।’

उहाँको नाजुक अवस्था देखेर पालिका–७ का वडाध्यक्ष राम बहादुर सिंहले पनि केही सहयोग गर्ने आश्वासन दिनुभएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया