गन्तव्य देशबाटै श्रम स्वीकृति लिन सक्ने बाटो खुल्यो

 माघ १२, २०७६ आइतबार १९:४:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – श्रम स्वीकृतिको लागि बीमा बापत तिर्नुपर्ने रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो खुलेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको म्यादी जीवन बीमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी आइतबार वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएपछि विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिन सकिने भएको हो । 

परराष्ट्र मन्त्रालयसँग छलफल गरेर एक हप्ताभित्र सबै प्रक्रिया टुंग्याउने विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिनुभयो । त्यसपछि सुरुमा कुनै एक देशबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुनेछ । बिस्तारै नेपाली श्रमिक कार्यरत सबै देशमा यसैगरी काम हुने भूसालले बताउनुभयो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बीमा भुक्तानी कम्पनी बनेको छ ।

बीमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बीमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बीमा नवीकरण गराउनुका साथै त्यसको भुक्तानीको व्यवस्था मिलाउने छ । 

अब म्यादी जीवन बीमा गर्दा तिर्नुपर्ने रकम इसेवा, खल्ती, स्प्यारो पे र कनेक्ट आइपीए बाट तिर्न सकिने गरी विभागले समझदारी गरिसकेको छ । अनलाइनबाटै बीमाको रकम तिर्दा कुनै पनि शुल्क लाग्दैन ।

योसँगै कल्याणकारी कोष, संस्था नवीकरण लगायतका सबै भुक्तानी अनलाइनबाट गर्ने सकिने बाटो खुल्ला भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया