जातीय विभेदको कसुरमा १० हजार जरिबाना

 माघ १४, २०७६ मंगलबार १०:४७:४२ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेख जिल्ला अदालतले नारायण नगरपालिका १० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभावकाे कसुरमा १० हजार रुपैयाँ जरिबाना र पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । 

जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले गएकाे माघ १३ गते याे फैसला गरेकाे जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो । 

गएकाे वैशाख ११ गते दिउँसो सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लास्टिककाे जर्किन छोइएको भन्दै ३५ वर्षीया लक्षिमा सुनारलाई आरोपित न्यौपानेले टाउकोमा हँसिया प्रहार गरेपछि उपचारका लागि नेपालगञ्ज लगिएकाे थियो ।

घटना लगत्तै भागेकी आरोपित न्यौपानेलाई चार महिनापछि सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गएकाे साउन २८ गते पक्राउ गरेको थियो । प्रहरीले दुई हप्ता हिरासतमा राखि अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेस गरेको थियो । 

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस भएको जातीय भेदभाव तथा छुवाछुत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपैयाँ धरौटीमा छोडेको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

3 Comments

  • Dik Bishwakarma

    Jan. 30, 2020, 9:26 p.m.

    मनुवादीको एकाधिकार र एकलौटी शासन चलिरहेको यो देश मा खसार्य ले दलित लाई हेप्नु, पिटनु, वा ज्यानै खतम पार्नु सामान्य मानिंदै आएको छ । बाहुनीले दलित लाई छुवाछुत गरी र टाउकोमा धारिलो हतियार चलाएपछि त्यो केश केवल छुवाछुत को मात्र न भै ज्यान मार्ने उद्योग समेतको भै पीडकलाई हदैसम्मको सजायको माग गरिनु पर्थ्यो र तेही मुताबिक को फैसला अदालत बाट हुनु पर्थ्यो । तर शुरू कारबाई चलाउने प्रहरी देखि नै खसार्य को सोर्स पुगेर मुद्दा हल्का बनाउन हतियार चलाएको कुरै समावेश नगरी केवल छुवाछुत गरेको मात्रै कसुर देखाएर मुद्दा चलाएको र तेसैमा मात्र केन्द्रीत रहेर अदालत ले ऐले फैसला गरे जस्तो देखियो । यो सब जालझेल छलकपट पिडक खसार्य लाई ठूलो सजाय हुन नपाओस् भलै पीडित दलित मर्कामा परोस् भन्ने षडयंत्र बाटै सम्पन्न भयको देखियो । यो देश मा खसार्य को शासन रहेसम्म दलित, जनजाति, मधिशे आदि उत्पिडित जति सबैले सही न्याय पाउने आशै नगरे हुन्छ । तेसैले विकल्प एउटै छ:- या त २१ सौं शताब्दी मा पनि खसार्य को राणा वा पंचायत कालिन उत्पिडन चुपचाप सहेर बस्ने या त सबै उत्पिडित एकजुट भयर बलीदानी संघर्ष गरी आफ्नो गुमेको शासनाधिकार खसार्य बाट खोसेर लिने । तेसो गरेमात्र साँचो न्याय र सबै सुविधा उपभोग गर्न पाईने छ र बल्ल देश मा गणतंत्र आएको थाहा पाईनेछ ।

  •  0 Reply
  • Bishal sunar

    Jan. 29, 2020, 1 a.m.

    छुवाछूत विभेद जस्तो अमानविय अनि निच व्यवहार गर्ने अपराधी हरु लाई सम्मानित अदालत बाटै धरौटी मा छोड्नु कानुनी राज्य को खिल्ली उडाए सरह होइन र...??

  •  0 Reply
  • Rajanish bajagain

    Jan. 28, 2020, 10:40 p.m.

    टाउकोमा धारिलो हतियार प्रयोग हुँदा पनि जातीय भेदभावको मात्रै केश लगाएको छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया