फर्किए बिमल, फर्काइयो म्यानपावरले ठगेको रकम

 माघ २२, २०७६ बुधबार १२:४०:५१

मानबहादुर कार्की/भोजपुर ।

भोजपुर– ‘मलाई त मर्छुझैं लागेको थियो, धन्न फर्किएर आफ्नै देश आउन पाएँ,’ भोजपुर नगरपालिका – १२ टक्सारका बिमल श्रेष्ठले विदेशबाट फर्कन पाउँदाको खुसी आँसुसँगै साट्नुभयो । २८ वर्षीय बिमल कमाउने आशमा ६ महिनाअघि साउदी जानुभएको थियो ।

साउदी जान म्यानपावरलाई १ लाख ३० हजार रुपैयाँ बुझाउनुभएको थियो । तर मनभरी परदेशमा कमाउने सपना बोकेर गए पनि ज्यानै थला परेपछि कसको के लाग्छ र ?

साउदी पुगेको केही समयपछि नै बिरामी पर्दा अनि आफ्नो साथमा कोही नुहँदा मर्छुजस्तै लागेको थियो भन्नुहुन्छ बिमल । ‘बिरामी हुँदा ख्याल गर्ने कोही नहुँदा झल्झली परिवार सम्झिएँ, अस्पताल जान पनि त्यहाँ त निकै हारगुहार गर्न पर्‍यो, मानिस पनि पत्थरझैं हुँदा रहेछन् त्यहाँ त,’ बिमल सुनाउनुहुन्छ ।

टाउको दुख्दा पनि परिवारको अत्यास र ख्याल सम्झँदै बस्नुभयो । अस्पताल गएपछि दुवै मिर्गौलामा पत्थरी भएको थाहा पाउनुभयो बिमलले । साउदीको एक पोल्ट्री फर्ममा काम थियो बिमलको ।

कम्पनीले तलबमा खर्च कटाउनेगरी उपचार खर्च तिर्न तयार भयो । तर उपचार गरे पनि उहाँको मिर्गौलाको पत्थरी निख्रिएन । शारीरिक बिमार परेका बिमललाई मानसिक रुपमा पनि निकै तनाव हुन थाल्यो । ‘झल्झली घरपरिवार र आफ्नो देश सम्झें,’ बिमल भन्नुहुन्छ, ‘म घरमै गएर उपचार गर्छु मलाई पठाइदेऊ भन्दा पनि नपठाउने रहेछन् ।

बिमलले परिवारलाई आफ्नो समस्या सुनाउनुभयो । एकतिर बिमार ज्यान अर्कोतिर एक्लोपन । बिमललाई जसरी पनि नेपाल फर्किनुथियो । परिवारका सदस्यले पठाउने नासिरा म्यानपावरसँग सल्लाह गरे ।

म्यानपावरले २ लाख २२ हजार रुपैयाँ दिए फिर्ता ल्याइदिने आश्वासन दियो । म्यानपावरले भनेझैं ऋण काढेर बिमलको परिवारले फेरि म्यानपावरलाई २ लाख २२ हजार रुपैयाँ बुझाए । ‘ऋण लागे पनि दिन नलागोस् भन्छन्, मलाई जसरी पनि फर्किनु थियो,’ बिमल भन्नुहुन्छ, ‘त्यही भएर पैसा दिन पनि तयार भएका थियौं ।’

फर्काइयो रकम, फर्किए बिमल

बिमल साउदीमा समस्यामा परेको र स्वदेश फिर्ताका लागि म्यानपावरले पैसा मागेको निवेदन सुरक्षित आप्रवासन सामी परियोजनाको आप्रवासी स्रोत केन्द्रमा गएको पुस २२ गते निवेदन पर्‍यो ।

स्रोत केन्द्रले बिमलको समस्या समाधानमा समन्वय गर्न काठमाण्डौको अनामनगरमा रहेको प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा पठायो । पीनसीसीले म्यानपावरसँग छलफल गरेपछि म्यानपावर लिएको पैसा फिर्ता दिन र बिमललाई स्वदेश फिर्ता गर्न तयार भयो । माघ २ गते म्यानपावरले परिवारको बैंक खातामा पैसा फिर्ता दियो ।

त्यसको भोलिपल्टै माघ ३ गते बिमल पनि नेपाल फर्किनुभयो । आफू पनि घर फर्किन पाउँदा र म्यानपावरले लिएको रकम पनि फिर्ता पाउँदा बिमलको हराएको खुसी पनि फर्किएको छ ।

६ महिना विदेश बसेर नेपाल फर्किएका बिमलले अब नेपालमै सवारी चालकको काम गर्ने सोच बनाउनुभएको छ । विदेश सम्झँदै बिमलले भन्नुभयो, ‘विदेशमा पैसाको बोट नहुँने रहेछ, म सबै नेपालीलाई आफ्नै देशमा केही गर्न सुझाव दिन्छु र म पनि अब विदेश जान्न ।’

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया