प्यारासाइट : 'अस्कर' मा उत्कृष्ट फिल्मकाे अवार्ड जित्ने पहिलाे गैरअङ्ग्रेजी भाषी फिल्म

 माघ २७, २०७६ सोमबार १६:५५:४३ | जुनू भण्डारी
unn.prixa.net

काठमाण्डौ - ९२औँ एकेडमी अवार्ड हलिउडको डल्बी थिएटरबाट वितरण गरिएको छ ।

चलचित्र जगतकै प्रतिष्ठित अस्कर अवार्ड समारोहमा डल्बी थिएटर अगाडि ओछ्याइएको रेडकार्पेटमा आइतबार साँझ हलिउड तथा संसारभरका विश्वचर्चित कलाकारहरुले सहभागिता जनाएका थिए । 

यस वर्ष फिल्म समीक्षकको समीक्षालाई गलत साबित गर्दै दक्षिण कोरियन फिल्म ‘प्यारासाइट’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्दै इतिहास रचेको छ । फिल्म ‘प्यारासाइट’ ओस्कर जित्ने पहिलो गैर अङ्ग्रेजी फिल्म बनेको छ । 

यस फिल्मले उत्कृष्ट ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक र उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर विधामा पुरस्कार जितेको छ । 

उत्कृष्ट अभिनेताको पुरस्कार फिल्म ‘जोकर’ का लागि वाकिन फिनिक्सले जितेका छन् भने फिल्म ‘जुडी’ का लागि रिनी जेलवेगरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छिन् । उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाको प्रोडक्शनमा बनेको ‘अमेरिकन फ्याक्ट्री’ ले जितेको छ । 

उत्कृष्ट सहअभिनेताको पुरस्कार ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि अभिनेता ब्राड पिटलाई दिइएको छ । यस्तै यही विधा अन्तर्गत उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘म्यारिज स्टोरी’ का लागि लारा डर्नले जितेकी छिन् । 

अस्कर जित्न सफल प्यारासाइटको कहानी 

फिल्मको कहानी निकै नै मार्मिक छ, जसले समाज व्यवस्थामाथि व्यङ्ग्य गरेको छ । दक्षिण कोरियाली दुई परिवारबाट फिल्मको कहानी अगाडि बढ्छ  । 

दुवै परिवारमा आमाबुवा तथा छोरा र छोरी गरी चार/चार जना सदस्य हुन्छन् । दुवै परिवार शहरमा बस्छ तर एक परिवार निकै धनी र अर्को परिवार गरिब हुन्छ । 

यी दुवै परिवार आफ्नो दैनिक जीवनमा सङ्घर्ष गरिरहेको हुन्छ । तर यी दुवै परिवारको आवश्यकता भने फरक फरक हुन्छ । फिल्ममा उनीहरुको प्राथमिकतालाई निकै नै मार्मिक तरिकाले चित्रण गरिएको छ । 

सबैभन्दा धेरै विधाको मनोनयनमा परेको फिल्म ‘जोकर’

वाकिन फिनिक्सको ‘जोकर’ सन् २०२० को सर्वाधिक चर्चित फिल्म हो । यो फिल्म अस्करकाे सबैभन्दा धेरै विधाको मनोनयनमा पर्न सफल रह्यो । 

यो फिल्म ‘उत्कृष्ट अभिनेता, निर्देशक, फिल्म गरी जम्मा ११ वटा विधाको मनाेनयनमा परेको थियो । फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने अभिनेता वाकिन फिनिक्सले उत्कृष्ट अभिनेताको लागि गोल्डेन ग्लोब अवार्ड समेत जितिसकेका थिए । 

फिल्म ‘जोकर’ पछि सबैभन्दा धेरै विधाको मनाेनयनमा पर्ने दोस्रो फिल्म ‘१९१७’, ‘द आइरिशम्यान’ र ‘वन्स अपन अ टाइम इन हलिउड’ हो । यी तीन वटै फिल्म १० वटा विधामा मनाेनित भएका थिए । यस्तै ‘प्यारासाइट’, ‘लिटिल वुमन’, ‘म्यारिज स्टोरी’ र ‘जोजो र्‍याबिट’ ६ वटा विधामा मनाेनित भएका थिए । 

यस्तो छ २०२० को अस्कर विजेताको सूची

उत्कृष्ट अभिनेता–वाकिन फिनिक्स
उत्कृष्ट अभिनेत्री–रीनि जेलवेगर      
उत्कृष्ट फिल्म–प्यारासाइट 
उत्कृष्ट निर्देशक–बंग जून हो (प्यारासाइट)
उत्कृष्ट अन्तर्राष्ट्रिय फिल्म–प्यारासाइट
उत्कृष्ट एनिमेटेड फिल्म–टोय स्टोरी ४
उत्कृष्ट डकुमेन्ट– अमेरिकन फ्याक्ट्री
उत्कृष्ट सिनेम्याटोग्राफी–१९१७ (रोजर डीकीन्स)
उत्कृष्ट ओरिनल स्कोर–जोकर (हिल्डन गौनाडोटिर)
उत्कृष्ट फिल्म एडिटिङ्ग– फोर्ड भर्सेज फरारी –माइकर म्याकसकर, एण्ड्रयू बकल्याण्ड)
उत्कृष्ट सहअभिनेता– ब्राड पिट (वन्स अपन अ टाइम इन हलिउड)
उत्कृष्ट सहअभिनेत्री–लारा डर्न (म्यारीज स्टोरी)
उत्कृष्ट साउण्ड एडिटिङ– डोनाल्ड सिल्वेस्टर (फोर्ड भर्सेज फरारी)
उत्कृष्ट साउण्ड मिक्सिङ–१९१७
उत्कृष्ट ओरिजिनल स्क्रीनप्ले–प्यारासाइट (बंग जून हो)
उत्कृष्ट ओरिजिनल गित–आय एम गोन अ लभ मी अगेन (रकेट म्यान)
उत्कृष्ट प्रोडक्शन डिजाइन– वन्स अपन अ टाइम इन हलिउड
उत्कृष्ट कस्ट्युम डिजाइन–लिटिल वुमन 

अन्तिम अपडेट: बैशाख ९, २०८१

जुनू भण्डारी

जुनू भण्डारी उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया