ठेकेदारसँग कुलमान : राति १० बजे फिल्डमा आउँछु, काम नभएको देख्नु नपरोस् !

 फागुन ५, २०७६ सोमबार १५:५०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत प्राधिकरण माताहतमा भइरहेका कामको नियमित अनुगमनमा जानु कार्यकारी निर्देशक कुलमान घिसिङको दैनिकी नै बनेको छ ।

समयमै काम पूरा गर्न उहाँ कहिले नागरिकसँग अनि कहिले संसदीय समितिमा सांसदसँग नै बाझेको देखिन्छ । ठेकेदारलाई फकाएर होस् या चेतावनी दिएर हाेस्, काम बेलैमा सक्न घिसिङको दौडधुप बढेको देखिन्छ ।

सोमबारदेखि नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका तार भूमिगत गर्ने काम थालेको छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका तार भूमिगत गर्न भारतीय कम्पनी केईआई इन्डस्ट्रिजले जिम्मा पाएको छ । आज खनेको सडक भोलिपल्टै पहिलेकै अवस्थामा ल्याउने र अफ्ठेरो ठाउँमा सडक खनेको बढीमा १० दिनभित्र पीच गर्न ठेकेदारसँग सहमति भएको छ । 

यसअघि ढल र मेलम्ची खानेपानी आयोजनाले सडक खन्दा उपत्यकाका नागरिक धुलो र धुवाँले हैरान भएका थिए, अहिले त्यस्तो हुन नदिन 'होराइजेन्टनल डिरेक्स्नल् ड्रिलिङ' प्रविधि अपनाइएको छ । जसले पूरै सडक नखनि मुसोले जस्तै प्वाल पार्नेछ । केही मिटरको अन्तरमा भने पूरै सडक खन्नुपर्नेछ । 

ठेकेदार कम्पनीले सन् २०२१ को अक्टोबरसम्म महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोङ्गबु, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली  लगायतका ठाउँमा दुई सय ५० किमी क्षेत्रको तार भूमिगत गर्नुपर्नेछ ।

यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बाग बजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, कालीमाटी, थापाथली, माईतीघर, सिंहदरबार, नक्साल, गौशाला, एअरपोर्ट, चावहिल, लाजिम्पाट लगायतका क्षेत्रको दुई सय किमी क्षेत्रमा तार भूमिगत गरिनेछ । 

सडक धुलाम्य र हिलाम्य भएर नागरिकको आलोचना नआओस् भनेर घिसिङले तार भूमिगत गर्ने जिम्मा पाएको ठेकेदारलाई पनि सचेत गराइसक्नुभएको छ । सडक खन्दा आउने फोहोर व्यवस्थापन गर्न, धुलो उड्न नदिन र भईरहेको काम छाेपेर मात्रै गर्न घिसिङले निर्देशन दिनुभएको छ । 

‘हाम्रो तर्फबाट गरिदिनुपर्ने सहजीकरणमा कुनै कमजोरी रहँदैन, तर जुनसुकै हालतमा यो काम तोकिएको समयमै सकिनुपर्छ भनेर मैले पटक पटक भनेको छु ।’ घिसिङले भन्नुभयो । 

तार भूमिगत गर्ने कार्यक्रमको उद्घाटन सकेर धेरैजसो अथिति र विद्युत् प्राधिकरण, सडक विभाग, ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका निकायका प्रतिनिधि बाहिरिँदा पनि घिसिङले ठेकेदारसँग समयमै काम सक्ने र व्यवस्थित काम गर्नेतर्फ सचेत गराइरहनुभएको थियो । 

‘म आज बेलुकी १० बजे आउँछु र पटक पटक रातिको समयमा छड्के अनुगमनमा आउँछु, म आउँदा काम नभएको देख्नु नपरोस्, फटाफट काम हुनुपर्छ ।’

घिसिङको भनाइपछि तार भूमिगत गर्ने जिम्मा पाएको भारतीय कम्पनी केईआई इन्डस्ट्रिजका प्रतिनिधिले मुस्कुराउँदै भने, ‘वो तो हो जायगा ।’ 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया