सफाइ पाएपछि महराकाे विज्ञप्ति : देशकाे स्वाधीनता रक्षा पहिलाे प्राथमिकता

 फागुन ५, २०७६ सोमबार २०:१७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जबरजस्ती करणी मुद्दाको आरोपमा सफाइ पाएपछि पूर्व सभामुख कृष्णबहादुर महराले देशको स्वाधीनता रक्षा नै आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । 

महरालाई जिल्ला अदालत काठमाण्डौका न्यायाधीश अम्बरराज पौडेलको इजलासले सोमबार जबरजस्ती करणी मुद्दाको आरोपमा सफाइ दिएको हो । सफाइ पाएपछि महराले प्रेस विज्ञप्ति निकालेर आफूमाथिकाे आराेप गलत भएकाे बताउनुभएकाे छ ।    

‘एक देशभक्त नेपालीका रुपमा देशको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैँ थियो, अहिले पनि छ र सदैव रहिरहनेछ’, प्रेस विज्ञप्तिमा  भनिएको छ । 

विज्ञप्तिमार्फत महराले आफूमाथि लागेको आरोप गलत साबित भएको बताउनुभएको छ । साथै उहाँले सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद प्रकट गर्नुभएको छ । 

‘म ३० दिन हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनु हुने मेरा समर्थकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु  कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई धन्यवाद दिन चाहन्छु’, प्रेस वत्तव्यमा भनिएको छ ।   

महराविरुद्ध गएको कात्तिक १४ गते जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दायर भएको थियो । महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको अभियोगमा साढे दुई वर्ष गरी साढे सात वर्ष कैद सजाय मागसहित मुद्दा दायर भएको थियो । 

प्रहरीले महरालाई गएकाे असोज १९ गते पक्राउ गरेको थियो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया