गौतमबुद्ध विमानस्थलका सामान चीनमै अड्किए, चौथो पटकको मितिमा पनि काम नसकिने ‘निश्चित’

 फागुन ७, २०७६ बुधबार ११:४५:१२ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका रन वे का लागि चाहिने लाइट चीनमै अड्किएका छन् । रन वे को लागि चाहिने लाइट सबैको उत्पादन नभइसकेको र बनिसकेका लाइट पनि नेपाल आउन सकेका छैनन् । विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कम्पनीले कोरोना भाइरसको सङ्क्रमणको कारण रन वे लाइट चीनमै अड्किएको जानकारी दिएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । 

‘अहिलेसम्म केही लाइट बनेर प्याकिङको चरणमा रहेको ठेकेदार कम्पनीले जानकारी दिएको छ, केही भने उत्पादनकै चरणमा रहेका छन्,  तर कोरोना भाइरसको कारण नेपालसम्म ल्याउन नसकिएको उसको भनाइ छ’ आयोजना प्रमुख प्रवेश अधिकारीले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । 

पछिल्लो पटक चौथो पटक म्याद थप्दै मार्च अन्तिममा विमानस्थलको काम सक्ने गरी चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । तर मुख्य चुनौतीपूर्ण मानिएको रन वे लाइट जडानको काम नै सुरु हुन सकेको छैन । 

‘लाइट आएपछि पनि जडान हुन कम्तीमा एक महिना लाग्नेछ, अहिलेसम्म काम सुरु नै भएको छैन, कहिले लाइट आएर कहिले जडानको काम सकिने हो भन्ने नै अन्योल भएको छ’, अधिकारीले भन्नुभयो । 

थपिएको समयमा पनि तालिका अनुसार सामान आयात र जडानमा ढिलाइ भइरहेको छ । यसले गर्दा मार्च अन्तिममा विमानस्थलको निर्माण सम्पन्न गर्न समस्या भएको आयोजना प्रमुख अधिकारीको भनाइ छ । 

‘अहिले एक दिनको पनि ठूलो ‘भ्यालु’ छ, यस्तो अवस्थामा सामान नआउँदा समस्या भएको छ, के गर्ने भन्ने निधो गर्न सकेका छैनौँ’, उहाँले भन्नुभयो । 

रन वे का लाइट मात्रै नभइ ब्यागेज ह्यान्डलिङका सामान पनि आउन पाएका छैनन्, यस्तै टर्मिनल भवनका केही सामान पनि चीनमै अड्किएका छन् ।

समयमै काम सक्नको लागि ठेकेदारले ‘एअरलिफ्ट’ गरेर सामान ल्याउने र रातदिन गरेर काम गर्ने विकल्प छ । तर त्यसको लागि आर्थिक व्यवस्थापन लगायतका कुरामा छलफल र सहमति गर्नुपर्ने भएकाले तत्कालका लागि सम्भावना नरहेको आयोजनाले जनाएको छ । 

२०७१ सालमा सुरु भएको राष्ट्रिय गौरवको यो आयोजना २०७४ सालमा सक्ने योजना थियो । भूकम्प र नाकाबन्दीका कारण ढिलाइ भएको आयोजना सम्पन्न हुने म्याद २०७४ सालयता चार पटक सरिसकिएको छ । अहिले समग्रमा ८६ प्रतिशत काम मात्रै सकिएको छ ।

विमानस्थलको मुआब्जा वितरणमा २३ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । मुख्य संरचना निर्माणको लागि चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले ६ अर्ब ८२ करोड रुपैयाँमा काम गरिरहेको छ । यस्तै उपकरण जडानको लागि एरो थाइ कम्पनीले ५८ करोड रुपैयाँमा ठेक्का पाएर उपकरण जडानको काम गरिरहेको छ ।

भौतिक संरचनाको काम पूरा नहुँदा सञ्चालन प्रक्रियाका काममा पनि ढिलाइ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका संरचनाको काम पूरा नहुँदा यसको सञ्चालनको लागि गर्नुपर्ने पूर्वतयारीका काममा पनि असर परेको छ । रन वे मा लाइट जडानको काम सम्पन्न नहुँदा सञ्चालन ‘रेडिनेस’ को टिमले पूर्ण क्षमतामा काम गर्न पाएको छैन । विमानस्थल निर्माण पूर्ण भएपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) बाट लिनुपर्ने प्रमाणिकरणसहितका कामको तयारीमा पनि ढिलाइ भएको छ । 

‘विमानस्थल रेडिनेसको टिमले कुनै पनि काममा ढिलाइ गरेको छैन, हाम्रोतर्फबाट कुनै कमजोरी पनि छैनन्, मुख्य कुरा विमानस्थल आयोजनाले भौतिक संरचनाको निर्माण पूरा गरेर प्रतिवेदन दियो भने हामीले विमानस्थल सञ्चालनको लागि आवश्यक प्रक्रियाको काममा तीव्रता दिन सक्छौँ’ रेडिनेस टिमका प्रमुख प्रतापबाबु तिवारीले उज्यालो अनलाइनसँग भन्नुभयो । 

स्थलगत भ्रमण गरेको टिमले केही दिनअघि मन्त्री योगेश भट्टराईलाई भेटेर विमानस्थलमा भएको काम र सञ्चालनको तयारीका विषयमा जानकारी गराएको थियो । 
रेडिनेस टिमले अहिले विमानस्थल सञ्चालनको लागि पूर्वतयारीका प्रक्रियाको काम गरिरहेको छ । 

तिवारीका अनुसार विमानस्थल सञ्चालनको लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनबाट प्रमाणीकरण गर्नुपर्छ । यसको लागि विमानस्थल आयोजनाले रन वे को ले आउट, समन्वय, विमानस्थलका सुविधा लगायतका जानकारी दिने कागजातसहित आईकाओमा निवेदन दिनुपर्छ । त्यसपछि आईकाओको टोलीले स्थलगत अध्ययन र कागजातको परीक्षण गर्नेछ । अवस्था हेरेर आईकाओले शर्तसहितको अनुमति या पूर्ण अनुमति  दिन सक्नेछ । 

‘सञ्चालनको लागि पहिले संरचना तयार हुनुपर्‍यो, चाहिने प्रतिवेदन तयारी अवस्थामा राख्नुपर्‍यो, त्यसैका आधारमा इन्टरनेशनल एरोडम प्रमाणीकरण गर्नुपर्छ, हामीले काम गरिरहेका छौँ, मुख्य कुरा संरचनाको पूर्णता नै हो’, तिवारीले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया