खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत

 फागुन ७, २०७६ बुधबार १७:४५:४७ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - चर्चित खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका शहीद परिवारले ४० वर्षपछि राज्यको तर्फबाट राहत पाएका छन् ।

प्रदेश नम्बर १ सरकारले शहीदभूमि गाँउपालिकाको खोकु–छिन्ताङ्ग र आँखिसल्लामा २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।

छिन्ताङको सहिद पार्कमा प्रदेश सरकारले एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताउनुभयाे ।

तत्कालीन पञ्चायती सरकारले त्यस क्षेत्रका १६ जना सर्वसाधारण नागरिकहरुलाई राजनीतिक आस्थाको आधारमा गोली हानेर निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा खाल्सा क्षेत्रका तीन दिनको सुत्केरी सहित १६ जना सर्वसाधारण नागरिकहरु मध्ये कोहीलाई भीरबाट लडाएर, कोहीलाई गोली हानेर र केहीलाई नदीमा बगाएर हत्या गरिएको थियो ।

त्यस घटनाका बेला मुलुकको प्रधानमन्त्री धनकुटाका मुगाका सूर्यबहादुर थापा हुनुहुन्थ्याे । सरकारको ठाडो आदेशमा उनीहरुको हत्या गरिएको थियो । २०३६ साल कार्तिक २७, २८ र २९ गते भएको थियो ।

प्रजातान्त्रिक आन्दोलनको क्रममा २०३६ साल कार्तिक २६ गते शहीदभूमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, कार्तिक २७ गते शहीदभूमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो ।

त्यस्तै सोही गाउँपालिका–१ का भैरबबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कार्तिक २७ गते नै हत्या गरिएको थियो । पञ्चायती सरकारले सहिदभुमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कार्तिक २८ गते र शहीदभूमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साईली) को कार्तिक २९ गते हत्या गरेको थियो । यता शहीदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो । 

छिन्ताङ हत्याकाण्डका शहीदहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ साल पौष २८ गते राष्ट्रिय सहिद घोषणा गरेको थियो । गत कात्तिक २९ गते छिन्ताङ सहिद पार्कमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले केही दिनमै शहीद परिवारलाई पाँच लाखका दरले राहत रकम उपलब्ध गराउने घोषणा गरेका थिए । घोषित कार्यक्रम अनुसार प्रदेश सरकारले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयाे ।

राज्यको तर्फबाट ढिलो भएपनि ४० वर्षपछि शहीद परिवारलाई केही राहत वितरण गरेकोमा शहीद परिवार खुशी रहेको सहिद परिवार संरक्षण समितिका अध्यक्ष एवम् शहीद पुत्रमान थुलुङ राईका छोरा बलराम राईले बताउनुभयाे ।

उनले भन्नुभयाे, ‘यो राहत पर्याप्त त छैन । तर पनि राज्यले सम्झेकोमा हामी खुशी छौँ ’, उहाँले थप्नुभयाे, ‘यति राहत दिएर मात्र सहिदको सम्मान हुन सक्दैन । कम्तीमा शहीदका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने व्यवस्था राज्यले गर्नु पर्‍यो । शहीद परिवार एकिकृत बस्ती निर्माण गर्नुपर्दछ । एक शहीद परिवार एक रोजगारको व्यवस्था गर्नुपर्दछ । अनि मात्र शहीद परिवारको दुखेको घाउमा मलपट्टी लाग्न सक्दछ ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया