खरिपाटी क्वारेन्टाइनमा राष्ट्रिय सभाका अध्यक्षकाे अनुगमन : सीसीटीभी र माइकबाट अवस्थाकाे जानकारी

 फागुन ७, २०७६ बुधबार २०:३४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले भक्तपुरको खरिपाटीमा रहेकाे क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । 

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुको बारेमा जानकारी लिन बुधबार खरिपाटी पुग्नुभएका अध्यक्ष तिमिल्सिनाले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फत भित्र रहेका नेपालीहरुसँग सीसी क्यामराको माध्यमबाट भिडियो कुराकानी गर्नुभएको हाे ।

कन्ट्रोल कक्षबाट उहाँले भित्र रहेका नेपालीहरुसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिनुभएको हो । क्वारेन्टाइनभित्र रहेका नेपालीले सरकारले पुर्‍याएको सहयोगका लागि धन्यबाद व्यक्त गरेका छन् ।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उहाँले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीसँग उनीहरुको अवस्थाबारे थप जानकारी लिनुभएको थियो ।

उहाँलाई नेपाली सेनाका कर्णेल शिव पौडेलले यहाँको अवस्थाकोबारेमा जानकारी गराउनु भएको थियो । क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया