कर्णाली नदी तारेपछि विकट कालीकोटमा 'योद्धा' सरर

 फागुन ८, २०७६ बिहिबार ९:१२:४७ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – पलाँता गाउँपालिकाद्वारा सञ्चालित साझा यातायात–योद्धा लेखिएका चार वटा टाटा गाडी बिहीबार बेलुका पचालझरना गाउँपालिकाको घाटचौरमा ल्याइए । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै बिहीबार नै ती गाडीलाई लालीघाट गेज तारेर कर्णाली करिडोरको बाटो हुँदै घाटचौर ल्याइपुर्‍याइएका हुन् ।

गएको फागुन १ गते २४औँ जनयुद्ध दिवस मनाउन ती गाडी ल्याइएका हुन् । तर कर्णाली नदीमा पुल नभएपछि ती गाडी सबै पचालझरना गाउँपालिकामै थन्किए । घाटचौरबाट ती गाडी पलाँतासम्म पुर्‍याउन लाखौँ बजेट खर्च गरेर कर्णाली नदीमा पुल वा गेज बनाउनुपर्ने भयो । तर त्यो गेज वा पुल एकै दिनमा बनाउन सम्भव थिएन । तर स्थानीयले जुक्ति निकाले । 

तत्काल अस्थायी गेज बनाउन पलाँताका सबै स्थानीय भेला भए । डिजेल र पेट्रोल बोक्न प्रयोग गरिने ३१ वटा ड्रम जम्मा गरे । ड्रममाथि फल्याक र कडी बाँधियो ।

गाडी आएको उपलक्ष्यमा खुशी साट्न कर्णाली नदीको छेउमा आएका स्थानीयले पनि ती गाडीलाई नदीमा तारेर पलाँता गाउँपालिकामै गाडी उद्घाटन गर्ने निधो गरे । ड्रममाथि फल्याक र कडी बाँधिसकेपछि ५० जना युवा त्यही अस्थायी गेजमाथि चढेर नदीमा गए । गेज डुबेन । गेजमाथि गाडी हालियो । गेजमा लामो डोरी बाँधेर नदीको दुवैतर्फ युवाहरुलाई नछोड्न भनियो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले त्यसको नेतृत्व गर्नुभयो । गेजअगाडि गाउँपालिका अध्यक्षसँग केही स्थानीय थिए । डोरी तान्दै जाँदा योद्धा गाडीहरु सरर पलाँता आइपुगे । गाडी पलाँता पुग्नासाथ स्थानीयले खुशी साटासाट गरे । अबिरजात्रा पनि निकाले । त्यस अवसरमा स्थानीय धामीझाँक्रीले गाउँपालिका अध्यक्षलाई छाप (बधाइ) दिए । 

पलाँता गाउँपालिकाले अशोक मार्गको बेल्के ढुङ्गादेखि राडुनेटासम्म २२ किलोमिटर सडकको ट्रयाक खोलेपछि त्यही सडकमा गाडी चल्ने भएको छ । अशोक मार्गमा गाडी चलेपछि दैनिक उपभोग्य वस्तुहरु पिठ्युँमा बोकेर स्थानीयले पाँच घण्टाको उकालो बाटो काट्नुपर्ने अवस्थाको अन्त्य भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताउनुभयो ।

स्थानीय उत्पादनको बजारीकरण

पलाँता वडा नम्बर ९ को थिर्पुबाट पलाँता वडा नम्बर २ को राडुनेटासम्म गाडी सञ्चालन भएपछि स्थानीय उत्पादनले बजार पाउने आशा गरिएको छ ।

माथिल्लो क्षेत्र भनिएको पहिलेका धौलागोह गाविसमा आलु, स्याउ, सिमी, कोदो र काइरोलगायतका बालीहरु उत्पादन हुने गर्दछन् । अब स्थानीयले आफ्नो उत्पादन सहजै बजार पुर्‍याउन र बजारको दैनिक उपभोग्य वस्तु घरघरसम्म पुर्‍याउन सक्ने भएपछि उत्पादनमा वृद्धि हुने पलाँताका कृषि शाखा प्रमुख उत्तमबहादुर शाहीले बताउनुभयो ।

औषधि उपचारमा सहज

अशोक मार्गमा पलाँता गाउँपालिकाद्वारा सञ्चालित साझा यातायात – योद्धा लेखिएका गाडी सञ्चालन भएपछि वृद्धवृद्धा र बिरामीहरुका लागि सहज हुने पलाँता १ का स्थानीय छत्रबहादुर कार्कीले बताउनुभयो । गाडी सञ्चालन भएपछि पलाँता वडा नम्बर १, २ र ३ का स्थानीयलाई प्रत्यक्ष सहयोग पुगेको छ । बिरामी ल्याउँदा डोको काटेर पाँच घण्टाको बाटो हिँडेर आउन पर्ने समयको अन्त्य भएको पलाँता २ का वडाध्यक्ष बुद्धि बिकले बताउनुभयो ।

सडक सञ्जालमा नजोडिएका पलाँता नम्बर ३, ४, ५ र ७ लाई पनि आर्थिक वर्ष २०७७/०७८ मा रिङ्गरोड (चक्रपथ) मा जोड्ने तयारी भइरहेको अध्यक्ष बमले बताउनुभयो । अन्य वडाहरुलाई पनि सडक सञ्जालमा जोड्नका लागि आवश्यक बजेट र नीति तथा कार्यक्रमहरु बनाउने काम भइरहेको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमको भनाइ छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया