भाडाका गाडीमा विद्यार्थी बोक्न दिनु हुँदैन : सिताराम हाछेथु

 फागुन ९, २०७६ शुक्रबार ९:८:१५ | सिताराम हाछेथु
unn.prixa.net

मैले ट्राफिक प्रहरीमा रहेर काम गर्दा सधैँ नागरिकको गुनासा सुन्थे । कहिले चालक र सहचालकको व्यवहारको बारेमा गुनासा आउँथ्यो । कहिले भाडा बढी लिएको त कहिले ठगेको । यी गुनासोमा अलि धेरै गाडी नपाएको र गाडी पाए पनि कोचिएर जानुपर्याे भनेर गुनासो आउँथ्यो ।  

सरकारले यातायात क्षेत्रको सिन्डिकेट हटायो । सिण्डिकेट हटेपछि अब राम्रोसँग गाडीहरु पाइन्छ । यातायात समितिको दौडधुप हट्ने भयो । ट्राफिक व्यवस्थापन र यातायात व्यवस्थापन राम्रो र सहज हुने भयो । नागरिकले सुविधा पाउँछन् । आनन्दले यात्रा गर्न पाउँछन् भन्ने ठूलो चर्चा पनि भयो । नागरिकले आश पनि गरे । तर खास यो हटेर पनि त्यस्तो केही फाइदा पुगेको जस्तो चाहिँ मलाई लागेन । 

काठमाण्डौ उपत्यकाको कुरा गर्ने हो भने बिहान र बेलुका यात्रुलाई गाडी पाउन निकै गाह्रो छ । धेरै बेर कुर्नुपर्ने, कुरेर बसे पनि कोचिएर जानुपर्ने बाध्यता छ । यसले बृद्ध, बच्चा, महिला, पुरुष सबैलाई असर परेको छ । 

मेरो विचारमा यो सबै सम्बन्धित निकाय र संघसंस्थाले ध्यान र चासो नदिएर भएको हो । नत्र रत्नपार्क जस्तो मुख्य ठाउँमा मानिसहरु लाइनमा बसेर गाडी कुर्न किन पथ्र्याे । 

चक्रपथतिर गाडीहरु खाली खाली चलेका हुन्छन् तर रिङरोडभित्र गाडी नपाइने र पाइए पनि कोचिएर हिँड्नुपर्ने अवस्था रहेको छ । यो किन भयो भन्दा सिण्डिकेट हटाएपछि कुनै पनि रुटमा गाडी राख्न र चलाउन सकिने भयो ।  यसरी कुनै पनि रुटमा गाडी राख्दा र चल्दा कतै गाडी बढी हुने, कतै नहुने समस्या आएको छ । तर पनि यसमा सम्बन्धित निकायले कम ध्यान दिएका छन् । 

यसलाई कम गर्नको लागि कुनै ठाउँ पनि त्यहाँ रहेका यात्रुको सङख्या बुझेर आवश्यक हुने गाडीहरुको व्यवस्था गर्नुपर्छ । त्यसैगरी मुख्य सडकमा मात्रै गाडीको चाप हुने गर्छ तर भित्री सडकमा गाडीहरु कमै मात्रै चल्छन् । शहरका भित्री सडकमा पनि सडकको अध्ययन गरेर उपयुक्त साधनहरु माइक्रो, टेम्पो चलाउने व्यवस्था गर्नुपर्छ । 

अर्काे समस्या भनेको स्कुलका विद्यार्थी लिन र लैजानको लागि भाडाका बस र माइक्रो प्रयोग गर्नु पनि हो । जब घरबाट निस्किएर काममा जानुपर्ने हुन्छ, त्यहीबेला स्कुलको विद्यार्थी लिनको लागि भाडाको गाडी जान्छ अनि यता कामको लागि जानेले गाडी पाउँदैनन्। 

फेरि राति काम सकेर घर जाँदा स्कुलको विद्यार्थी पुर्याउनको लागि भनेर गाडी जान्छ र बेलुका पनि गाडी पाउँदैनन्। स्कुलले यसो गर्नु हुदैन । तर आफ्नो गाडी राख्दा ड्राइभरलाई तलब दिनुपर्ने, दुर्घटना हुँदा क्षति हुने, बिग्रिएको खण्डमा बनाउनुपर्ने हुन्छ ।  यो खर्च र झन्झटबाट बच्नको लागि स्कुलले गाडीहरु भाडामा लिएर चलाउने गरेका हुन् । यसले गर्दा चाहिएको पिक आवरमा गाडीको कमी हुन्छ । 

करिब ६ सय जति भाडाका गाडीहरु पिक आवरमा विद्यार्थी लिन र पुर्याउनका लागि गुड्छन् । पिक आवर भनेको बिहान ८ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म हो । यहि समयमा भाडाका गाडी नहुँदा समस्या आउँछ ।

यसलाई हटाउन भाडाका बस वा माइक्रोलाई स्कुलका विद्यार्थी बोक्न दिनु हुँदैन । स्कुलले आफ्ना विद्यार्थीका लागि सरकारले तोकेको पहेलो रङ्गको गाडीको व्यवस्था गर्नुपर्छ  ।

त्यसैले सरकारले पिक आवरमा गाडी नपाउने र कोचिएर यात्राबाट यात्रुलाई राहत दिनको लागि भाडाका गाडीलाई स्कुलका विद्यार्थी बोक्न दिनु हुँदैन । अर्काे कुनै पनि ठाउँमा रहेको यात्रुको सङख्या बुझी गाडी थप्ने रुट परमिट दिने गर्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

सिताराम हाछेथु

हाछेथु ट्राफिक प्रहरीका अवकाश प्राप्त निरीक्षक हुनुहुन्छ ।

1 Comments

  • अन्जु

    Feb. 21, 2020, 11:57 a.m.

    सबै ले बुझेर पनि अबुझ बन्दै गएको छ

  •  0 Reply

तपाईको प्रतिक्रिया