प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - सांसदहरुले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना सम्बन्धमा झूटाे विवरण दिएर संसदीय समितिलाई गुमराहमा नराख्न सरकारलाई चेतावनी दिएका छन् ।
सेक्युरिटी प्रेस स्थापनाका सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सुरक्षण मुद्रण केन्द्रका कर्मचारीसँगको छलफलका क्रममा सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिलाई झूटो विवरण दिएर उम्कने गल्ति नगर्न मन्त्रालयका कर्मचारीलाई चेतावनी दिएका हुन् ।
सेक्युरिटी प्रेस स्थापनाकाे सम्बन्धमा मन्त्रालयका सचिव दिपक सुवेदी र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलको जवाफ गोलमोटल र स्पष्ट नभएपछि सांसदहरुले गलत जवाफ नदिन सचेत गराएका हुन् ।
सांसद विरोध खतिवडाले फ्रान्स र जर्मनीमा मन्त्रालयका तर्फबाट पटक पटक भएको भ्रमणको खर्च कसले ब्यहोरेकाे छ भनेर प्रश्न गर्दा मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलले सबै नेपाल सरकारको तर्फबाट भएको जवाफ दिनुभएको थियो ।
पौडेलले आफ्नो भनाइ छिनमै बदलेपछि सांसदहरुले सबै भ्रमणको सही विवरण बुझाउन सचेत गराएका थिए । सांसद डाक्टर मिनेन्द्र रिजालले चेतावनी दिँदै भन्नुभयो, ‘तपाईँले यहाँ बोल्या कुरा झूटाे भयो, प्रमाणभन्दा बाहिर गयो भने संसदको विशेषाधिकार आकर्षित हुन्छ । यो विषय गम्भीर हो । हाम्लाई पनि शंका लागेको छ । प्रश्न गर्ने क्रम सकिएको छैन ।’
सांसद इस्तियाक राईले भन्नुभयो, ‘मैले पनि मन्त्रालय चलाएकै हो । कुनै पनि इन्जिनियरले दर रेटभन्दा फरक ल्याउँछ भने किन र के का लागि ल्याएको भनी प्रष्ट हामीले ब्रिफिङ लिएर मात्रै प्रक्रिया अगाडि बढाउँछौ तसर्थ तपाईँ पन्छिन मिल्दैन ।’