क्रान्तिका बेला ठूला त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेका छन् : प्रचण्ड

 फागुन ९, २०७६ शुक्रबार १४:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा नहुँदा क्रान्तिमा ठूलो ठूलो त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि भ्रष्टाचारमा लिप्त हुने गरेको बताउनुभएको छ । 

नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्तामा पुगेपछि कम्युुनिष्टहरुमा लोभ, भ्रष्टाचारजन्य क्रियाकलापमा देखिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सत्तामा नहुँदा आन्दोलनमा हुँदा क्रान्तिम हुँदा निकै ठूलो त्याग गर्नसक्ने जनतासँग घुलमिल हुन सक्ने, जनताको मन जितेर सत्ता प्राप्त गर्न सक्ने कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा छन् । नेपालको इतिहासमा पनि त्यसका लक्षणहरु देखिने गरेका छन् ।’  

उहाँले हिजो मृत्युलाई पनि सामना गरेर जस्तोसुकै तपस्या गर्नेहरु सत्तामा पुगेपछि जनताका कामहरु गर्न छाड्ने र कम्युनिष्ट सिद्धान्तबाट विचलित हुने गरेको बताउनुभयो ।

उहाँले कम्युनिष्टहरु सत्तामा पुगेपछि आफ्नो आदर्शबाट विचलित हुने गरेको विश्व इतिहास नै रहेको भन्दै नेपालमा घटेका पछिल्ला घटनाहरुले राम्रो संकेत नदेखिएको समेत बताउनुभयो ।

उहाँले सोभियत संघ र पूर्वी युरोपमा ठूलो त्याग र बलिदानबाट स्थापित भएको कम्युनिष्ट सत्ता पतन भएको दृष्टान्त उल्लेख गर्दै नेपालमा पनि नेतृत्वमा देखिँदै गएको लोभ लालच र भ्रष्टाचारजन्य कृयाकलापले राम्रो संकेत नदेखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसो हेर्‍यो भने हाम्रो पनि त्यही नियति । त्यतै जाने खतराका संकेतहरु त्यति राम्रा देखिएनन् । आजभोलिका घटनाहरु हेर्दा मान्छेहरु बिग्रने बाटाेतिर गएको जस्तो देखिँदै छ ।’ 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया