चीनमा काेरोना भाइरसका बिरामीकाे संख्या घट्दै : अरु देशमा बढ्दै

 फागुन १०, २०७६ शनिबार १२:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

चीनमा कोभिड-१९ अर्थात कोरोना भाइरसका बिरामीकाे संख्या कम हुँदै गएकाे छ । तर दक्षिण कोरिया, इटाली र इरानसहित विश्वका अरु देशका भने कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएका पाइएको छ ।

अहिलेसम्म चीनबाहिर ८ जनाको ज्यान गएको र विश्वका २६ देशमा १२ सय भन्दा धेरै मानिसमा कोरोना भएको पुष्टि भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ । आजमात्रै दक्षिण कोेरियामा १ सय ४२ जना कोरोना संक्रमित नयाँ बिरामी भेटिएका छन् ।

योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या ३ सय ४६ पुगेको बीबीसीले जनाएको छ । कोरियाको दोस्रो ठूलो शहर बुसानमा पहिलोपटक दुई जना र जिजुमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

संक्रमितको संख्या ३ सय भन्दा धेरै भएपछि दक्षिण कोरियामा सार्वजनिक स्वास्थ्य आपत्कालिन घोषणा गरिएको छ । राजधानी सेउलमा प्रदर्शनमा रोक लगाइएको छ । हिजो इटालीमा ७८ वर्षका वृद्धको ज्यान गएको र अरु १६ जनामा कोरोना संक्रमण भएको डब्लूएचओले जनाएको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ३ सय ४५ जनाको ज्यान गएको छ भने ७६ हजार २ सय ८८ जनालाई कोरोना भएको पाइएको छ ।

यसैबीच विश्व स्वास्थ्य संगठनको नेतृत्वको संयुक्त टोली आज कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान जाने भएको छ । अहिले चीनको बेइजिङ, सिचुवान र ग्वाङडोङमा काम गरिरहेको टोली आज वुहान जान लागेको हो । टोलीमा अमेरिका, सिंगापुर, दक्षिण कोरिया, जापान, नाइजेरिया, जर्मनी र रुसका विज्ञ रहेका समाचार संस्था सीएनएनले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया