आईपीएलकाे फाइनल पुग्न कोलकाता र हैदराबाद खेल्दै

 जेठ ११, २०७५ शुक्रबार १०:५७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग क्रिकेटको क्वालिफायरमा शुक्रबार कोलकाता र हैदराबाद खेल्दैछन् । यो खेल जित्ने टिमले आईपीएलको १० औं संस्करणको उपाधिका लागि चेन्नइसँग खेल्नुपर्नेछ । खेल कोलकातामा रहेको इडेन गार्डेन रंगशालामा बेलुका सवा ७ बजेपछि सुरु हुनेछ ।

हैदराबादले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नौ जितबाट १८ अंक बनाउँदै शीर्ष स्थान रहेको थियो । तर पहिलो क्वालिफायरमा चेन्नईसँग पराजित भएपछि अर्को प्लेअफ खेल्न लागेको हो । कोलकाताले भने एलिमिनेटरमा राजस्थानलाई २५ रनले हराउँदै हैदराबादसँगको भेट पक्का गरेको हो ।

दुई पटक उपाधि जितिसकेको कोलकाताका लागि कप्तान दिनेश कार्तिकसहित, क्रिश लिन, रविन उथप्पा जस्ता ब्याट्सम्यान महत्वपूर्ण हुनेछन् । सुनिल नाराईन, आन्द्रे रसेल लगायतको विष्फोटक ब्याटिङको आशा पनि हुनेछ । कोलकाताका ५ जना ब्याट्स्म्यानले यो सिजनको आईपीएलमा ३ सय रन पूरा गरिसकेका छन् । दिनेश कार्तिकले ४ सय ९० रन बनाएका छन् भने क्रिश लिनले ४ सय ४३, रविन उथप्पाले ३ सय ४९, शुनिल नाराइनले ३ सय ३१ र आन्द्रे रसेलले ३ सय १३ रन बनाएका छन् । 

हैदराबादको प्रदर्शन कप्तान केन विलियम्सनको ब्याटिङमा भर पर्नेछ । उनीसात सय रन पूरा गर्न १५ रनमात्र पछि छन् । यस्तै ४ सय ३७ रन बनाएका शिखर धवन पनि आक्रामक ब्याटिङ गरेर टिमलाई जित दिलाउन सक्षम छन् । हैदराबाद उत्कृष्ट बलरहरु रहेको टीम पनि हो । 

भुवनेश्वर कुमार, रासिद खान, सिद्धार्थ कौल लगायतका बलर हैदराबादमा छन् भने सकिब अल हसनके अलराउण्डर भूमिका पनि हैदराबादको साथ हुनेछ । कोलकातामा नाराइन र रसेल सहित उमेश यादवपनि मुख्य बलरका रुपमा रहेका छन् । 

हेड टु हेड

कोलकाता र हैदराबाद आईपीएलमा यसअघि १४ पटक आमनेसामने भएका छन् । जसमा कोलकाता नौ पटक विजयी भएको छ भने हैदराबादले पाँच खेलमात्र जित्न सकेको छ । इडेन गार्डेनमा भएको ६ खेलमध्ये कोलकाताले पाँच खेल जित्दा हैदराबादले एक खेलमामात्र विजयी भएको छ । 

यहि सिजनमा भएको पहिलो खेलमा हैदराबादले कोलकातालाई ५ विकेटले हराएको थियो । इडेन गार्डेनमा भएको दोस्रो खेलमा कोलकाताले हैदराबादलाई ५ विकेटले नै हराएको थियो ।

प्रतियोगिताको उपाधि जित्ने दाबेदारी पेश गर्न नजिति नहुने शुक्रबारको खेलमा कोलकातालाई घरेलु मैदान र समर्थकको साथ हुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया