सवारीसाधन र धुलाेसँगै बित्छ ट्राफिककाे दैनिकी

 फागुन ११, २०७६ आइतबार १२:५४:४० | रासस
unn.prixa.net

काठमाण्डाै – उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने याे सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको मारमा परेका छन् ।

निर्माण सुरु भएकाे धेरै समय बितिसक्दा पनि याे सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन । कालोपत्र भएको ठाउँमा पनि धुलोको कुहिरीमण्डल हुने गरेको छ । चाबहिलबाट साँखुसम्म पुग्ने सडक यातायातको हिसाबले निकै चाप हुने सडक हो । सावरीसाधनको चापको कारण यहाँ कार्यरत ट्राफिक प्रहरी बिहान उज्यालो भएदेखि सडकमै रहेर मध्यरातसम्म घाँटी सुक्नेगरी सिठ्ठी फुक्ने गरेकाे सबैलाई थाहा छ ।  

बौद्धको सडकको ड्युटीमा खटिरहेका प्रहरी जवान समिर दाहाल भन्नुहुन्छ, 'चावहिलदेखि जोरपाटीसम्म सडक बन्दै गरेको अवस्थामा सडकमा निकै जाम हुन्थ्यो, खाना खाने फुर्सद हुँदैन थियो । निर्माण सामग्री सडकमै हुन्थे । कच्ची सडकमा धुलोले नजिकैको दुरीमा पनि केही नदेखिने थियो । अहिले जोरपाटीसम्म सडक कालोपत्र भएपछि सडकमा तुलनात्मकरूपमा जाम घटेको छ तर धुवाँधुलो भने घटेको छैन ।' 

व्यस्त सडकखण्डमा यताउता दौडिरहनुपर्ने हुन्छ । काम नै यस्तै हो । यसो भन्दै गर्दा दाहालले हातको इसाराले सवारीसाधनलाई सही बाटोमा लगाउँदै गरेको देखिन्थ्यो । ट्राफिक प्रहरीको कार्य समय यति घण्टाको भनेर किटान गर्न सक्ने अवस्था छैन । महानगरीय ट्राफिक प्रहरी प्रभाग कपनका ट्राफिक प्रहरी सहायक निरीक्षक (असई) नवराज सापकोटा भन्नुहुन्छ, 'बिहान सबेरै सडकमा निक्लिएका ट्राफिक प्रहरीले मध्यरातसम्म फुर्सद पाउँदैनन् । चेकिङ र ड्युटीले नै सामान्यतयाः १४ घण्टाभन्दा बढी सडकमै रहनुपर्ने बाध्यता छ ।' 

धुवाँधुलो त हाम्रो पहिचानै जस्तो भइसक्यो, आज लगाएको कपडा भोलि लगाउन सकिँदैन । धुलो मात्रै कम हुने हो भने सडकमा रहेर काम गर्न निकै सहज हुने सापकोटा बताउनुहुन्छ । चाबहिलदेखि साँखुसम्मको सडकखण्डमा केही ठाउँमा कालोपत्र गरेको भेटिन्छ । याे सडकखण्डमध्ये चुच्चेपाटीदेखि साँखुसम्म तीन ठाउँमा कालोपत्र छ । बाँकी पूरै सडक कच्ची छन् ।

एक घण्टा सडकमा बस्दा धुलोले मान्छे चिनिँदैन । कराउँदा कराउँदै स्वर बस्छ । हाम्रो समयस्या देख्दैनन्, नियम मिच्नेलाई कारबाही गर्न खोज्दा उल्टै ट्राफिक प्रहरीमाथि नै भए भरको रिस पोख्ने गरेको महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धमा कार्यरत प्रहरी जवान गोविन्द भण्डारी बताउनुहुन्छ ।

भण्डारी भन्नुहुन्छ, 'हाम्रो आफ्नै समस्या छन्, खानाको समय मिल्दैन, निद्रा पुग्दैन, दैनिक सडकमा उभिँदा ढाड दुख्ने रोग बढ्दो छ । खाना र निद्रा नपुग्दा उच्च रक्तचापको समस्याले पिरोल्ने गरेको छ । यतिमात्रै होइन, घरपरिवारबाट ढाटा हुँदा बिदाको समयमा घर जाँदा आफ्नै छोराछोरीले पनि ठूलोबुबा र अङ्कल भन्ने गरेका छन् । यसरी हाम्रो दैनिक कर्तव्य सडककै रहेर गरिरहेका छौँ, कतिपय बुझ्दैनन्, हेप्छन् भने कतिपय सम्मान गर्छन् ।' 

कपनको आंशिक क्षेत्रबाहेक साँखु र बौद्धका ट्राफिक प्रहरी धुलो र सडकजामको हैरानीको मुख्य मारमा पर्छन् । चाबहिल–साँखु सडक चार लेनको बनाउने भन्दै लामो समयदेखि भत्काउने र खन्ने काम भएको छ । सडकभरि माटोको थुप्रो र हिलोको समस्या भनिसाध्य छैन । सडकको काम छिटो सम्पन्न भए धुलोबाट भए पनि मुक्ति मिल्ने ट्राफिक प्रहरी बताउँछन् ।

विसं २०७२ बाट सडक बनाउने भन्दै निर्माण सुरु भयो । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । माक्स (मुखावरण) लगायो केही समयमै सिठ्ठी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको माक्स भएता पनि सवारी साधनले उडाउने अत्यधिक धुँवाधुलाले सजिलै मुखभित्र छिर्ने गरेकामा ट्राफिक प्रहरीको दुखेसो छ ।

दैनिक बिहान बेलुकाको धुलोले कपडाको रङ नै परिर्वतन हुन्छ । धुलोको कारण दिनमा दुई पटक कपडा फेर्ने गरेको ट्राफिक प्रहरी बताउँछन् । सरकारले २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो । त्यसपछि काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कुल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडकको विस्तार गरिरहेका छन् । काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले याे सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले सम्पन्नता पाउँछ भन्ने अझै टुङ्गो छैन । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया