प्रिमियर लिगमा उल्भ्स र आर्सनल विजयी

 फागुन १२, २०७६ सोमबार ५:५६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - इंग्लिस प्रिमयिर लिगमा उल्भरह्याम्टन वान्डरर्सले नरविच सिटीमाथि ३–० को जित निकालेको छ । डियोगो जोटाले लगातार उत्कृष्ट प्रदर्शन गर्दा उल्भ्स आठौं स्थानमा उक्लिन सफल भएको छ ।

जोटाले नरविचविरुद्धको खेलमा दुई गोल गरे । यसअघि युरोपा लिगको खेलमा जोटाले स्पान्योलविरुद्ध ह्याट्रिक गरेका थिए ।

आफ्नो मैदानमा भएको खेलमा जोटाले १९औं मिनेटमा उल्भ्सलाई अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनले अर्को गोल थप्दा उल्भरह्याम्टनले पहिलो हाफमा दुई गोलको अग्रता लियो ।

५०औं मिनेटमा राउल जिमिनेजले गोल गर्दै उल्भ्सलाई ३–० को जित दिलाए । जितसँगै उल्भस ३९ अंक बनाउँदै आठौं स्थानमा उक्लिएको छ । नरविच सिटी भने १८ अंकसहित पुछारमा छ ।

अर्को खेलमा आर्सनलले एभर्टनलाई ३–२ ले हरायो । पिएरे एमरिक अबामेयाङले दुई गोल गर्दा आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको हो ।
खेलको पहिलो मिनेटमा नै एभर्टनका काल्भर्ट लेविनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

२७औं मिनेटमा इडवार्ट एनकेटियाले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । ३३औं मिनेटमा अबामेयाङले डेविड लुइजसको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

पहिलो हाफको इन्ज्युरी समयमा रिचार्डलिसनले गोल गरेपछि एभर्टनले पहिलो हाफमा आर्सनललाई २–२ गोलको बराबरीमा रोक्न सफल भयो । दोस्रो हाफको एक मिनेट पनि वित्न नपाउँदै अबामेयाङ्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । 

बाँकी समयमा एभर्टन खेलमा फर्किन नसक्दा आर्सनलले जित निकाल्यो । आर्सनल ३७ अंकसहित नवौं स्थानमा छ भने एभर्टन ३६ अंकसहित एघारौं स्थानमा छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया