विश्वकप फुटबलका लागि रङ्गशाला निर्माणमा खटिएका नेपाली कामदारको प्रशंसा

 फागुन १२, २०७६ सोमबार १७:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलले कतारमा रहेका नेपाली कामदारहरुको प्रशंसा गर्नुभएको छ । 

उहाँले सन् २०२२ कतारमा हुने विश्वकप फुटबलका लागि निर्माण भइरहेकाे रङ्गशालामा नेपाली कामदारले गरेको कामको प्रशंसा गर्नुभएको हो ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग सोमबार भएकाे भेटवार्ताको क्रममा उहाँले कतारमा रहेका नेपाली कामदारकाे प्रशंसा गर्नुभएकाे हाे । राजदूत युसुफले सभामुखको कार्यकक्ष सिंहदरबार नै पुगेर भेट गर्नुभयाे । 

भेटमा सभामुख सापकोटाले ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत् सम्बन्ध रहेको स्मरण गर्दै भेटले सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भ्रमण वर्ष २०२० मा सहयोग गर्ने कतारको प्रतिबद्धताप्रति धन्यवाद दिनुभयाे । 

सभामुखले सन् २०२२ मा कतारले आयोजना गर्न लागेको विश्वकप फुटबलको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापीरुपमा देखिएका जलवायु परिवर्तन लगायतका समस्या समाधनका लागि नेपाल र कतारले संयुक्तरुपमा पहलकदमी लिनुपर्ने बताउनुभयो । 

राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालकाे एअरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो । 

उहाँले नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई आवश्यकता अनुसार अद्यावधिक गर्न कतार तत्पर रहेको बताउनुभयो । राजदूत युसुफले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

'नेपालमा क्रिकेट रङ्गशाला निर्माण गर्न पनि हामी सहयोग गर्न चाहेका छौँ', राजदूत युसुफले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Bharat Kumar shrestha

    Feb. 24, 2020, 10:16 p.m.

    "राजदूत युसुफले नेपाली विमानस्थलमा पार्किङको अभावका कारण कतार एअरलाइन्सले घाटा बेहोर्नुपरेको जानकारी गराउँदै नेपालकाे एअरपोर्ट सुधारमा सहयोग गर्न कतार तयार रहेको बताउनुभयो ।"' यो कुराको गहन बिचार गर्नु पर्छ, यो समस्या कतारको मात्र होइन सबै एयरलाइन्सको समस्या हो , समन्धित निकायको ध्यान जानु जरुरि छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया