राेल्पामा प्रचण्ड बसेको घर 'युद्ध पर्यटन केन्द्र' घोषित

 फागुन १२, २०७६ सोमबार १७:४८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

रोल्पा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी जनयुद्धका बेला बसेको घरलाई 'युद्ध पर्यटन केन्द्र' घोषित गरिएको छ । जनयुद्धका बेला लामो समय आवासका रुपमा प्रयोग गरिएको रोल्पाको राङ्सीको घर र आसपास क्षेत्रलाई समेटेर ‘युद्ध पर्यटन केन्द्र’ घोषणा गरिएको हो । 

नेकपा स्थायी समिति सदस्य समेत रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सोमबार एक कार्यक्रमबीच त्यो क्षेत्रलाई ‘युद्ध पर्यटन केन्द्र’ घोषणा गर्नुभयो । मन्त्री पुनले जनयुद्धका क्रममा प्रचण्ड बसेको घर नेपालको राजनीतिक परिवर्तनका लागि भएको जनयुद्धको साक्षी भएको उल्लेख गर्नुभयो । 

उहाँले परिवतर्तित सन्दर्भमा आफूहरुले त्यस घरलाई जनयुद्धमा सहभागी भएकाहरुको मात्र नभइ राजतन्त्रको अन्त्य र गणतन्त्र, संघीयता, समावेशीतासहितका लागि भएका आन्दोलनहरुको बिम्ब र प्रतिक बनाउन चाहेको बताउनुभयो ।

‘यो घर प्रचण्ड बस्नुभएको कारणले मात्र होइन, तत्कालीन अवस्थामा काठमाण्डौमा रहेको ज्ञानेन्द्र शाहीको सरकार र जनताको समानान्तर सत्ताका बीचको सङ्घर्षको केन्द्र हो’, मन्त्री पुनले भन्नुभयो, ‘यो लोकतन्त्र र परिवर्तनका लागि भएका सबै आन्दोलनमा सहभागी हुनेहरुको साझा घर हो ।’ 

सात राजनीतिक दल र तत्कालीन माओवादीबीच १२ बुँदे सहमतिमा हस्ताक्षर हुनुअघि भएको चर्चित रोल्पा वार्ताका लागि आएका तत्कालीन एमाले नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई त्यही घरबाट गएर प्रचण्डले भेटेको पनि उहाँले स्मरण गर्नुभयो । 

प्रचण्डले त्यतिबेला प्रयोग गरेका खाट, खाना पकाउने र खाने भाँडा, कपडा, त्यहाँ बसेर लेखिएका दस्तावेज सबै युद्ध पर्यटन केन्द्रमा सर्वसाधारणका लागि प्रदर्शनीमा राखिने जानकारी मन्त्री पुनले दिनुभयो ।

उहाँले भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलन र चीनमा माओत्सेतुङ नेतृत्वमा भएको जनयुद्धका चिनारीस्वरुप कतिपय स्थानहरुलाई अझैसम्म सुरक्षित राखिएको बताउनुभयो । ती ठाउँ पर्यटकीय केन्द्र भएको चर्चा गर्दै प्रचण्डले जनयुद्धको नेतृत्व गरेको घर र त्यो क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउन उद्देश्य राखिएको बताउनुभयो ।

‘इतिहासको अध्ययन गर्नेहरुका लागि यो एउटा राम्रो ठाउँ हुनेछ’ मन्त्री पुनले भन्नुभयो । सङ्घ, प्रदेश र पालिका मिलेर त्यो ठाउँकोसंरक्षण तथा प्रवद्र्धन गर्ने योजना रहेको जानकारी उहाँले दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया