मोटरसाइकलको पार्टपुर्जा सम्बन्धित कम्पनीको आधिकारिक वितरकबाटै किन्नुपर्छ

 फागुन १३, २०७६ मंगलबार १९:३५:२० | राेशन केसी
unn.prixa.net

काठमाण्डौ - मानिसहरु दिनहुँ नभए पनि बेला बेलामा नुहाउने गर्छन्। सफा लुगा लगाएर चिटिक्क परेर हिँड्छन् । रोग नलागोस् भनेर खानपान र बानी ब्यहोरामा ध्यान दिने गर्छन् । रोग लाग्दा डाक्टरलाई देखाउने र औषधि खाने गर्छन् । 

मानिसले आफूलाई स्वस्थ र सफा राख्नका लागि गर्ने कार्यलाई मर्मत सम्भार भन्न सकिन्छ । मान्छेजस्तै मोटरसाइकललाई पनि सुुरक्षित र राम्रो अवस्थामा राख्न मर्मत सम्भारको आवश्यकता पर्दछ । 

त्यसका लागि मोटरसाइकललाई बेलाबेलामा धुने, पखाल्ने गर्नुपर्छ । मोटरसाइकलमा लागेको धुलो र हिलोले पार्टपुर्जामा खिया लाग्ने र पार्टपुर्जा कमजोर हुँदै जाने भएकाले धुने गर्नुपर्छ । 

मोटरसाइकललाई समय–समयमा वर्कशपमा लगेर सर्भिसिङ गराउनुपर्छ । सर्भिसिङ गर्दा सकेसम्म जुन कम्पनीको मोटरसाइकल हो, त्यही कम्पनीको आधिकारिक वर्कशपमा लगेर बनाउनुपर्छ । 

किनभने हरेक कम्पनीले आफ्नो मोटरसाइकल, त्यसमा प्रयोग भएका पार्टपुर्जा, तिनले गर्ने कामलगायतका विभिन्न कुराहरुमा धेरै जाँच, अनुसन्धान र प्रयोग गरेको हुन्छ । साथै आधिकारिक वर्कशपमा काम गर्ने प्राविधिकलाई सम्बन्धित कम्पनीले विभिन्न तालिम दिएको हुन्छ  ।

त्यसैले आधिकारिक वर्कशपमा मर्मत, सम्भारका लागि मोटरसाइकल लग्दा राम्रो सुविधा र सेवा पाउन सकिन्छ । जुन विश्वसनीय पनि हुन्छ । अरु वर्कशपमा मर्मत गर्दा त्यस्तो स्तरीय र सोचेको सुविधा पाउन गाह्रो हुन सक्छ । 

मोटरसाइकलको पार्टपुर्जा फेर्नुपरेमा सम्बन्धित कम्पनीकै आधिकारिक पार्टपुर्जा प्रयोग गर्नुपर्छ । यसको लागि पनि कम्पनीले तोेकेको आधिकारिक वितरकबाट किन्नुपर्छ । यसले तपाईंले खरिद गरेको सामान भरपर्दो र विश्वसनीय हुन्छ । 

साथै आधिकारिक वितरकबाट किनेको पार्टपुर्जा सम्बन्धित कम्पनीले विभिन्न जाँच र प्रयोग गरेर बनाएको हुन्छ । त्यसैले लामो समय टिक्छ । आफूले बनाएको र बेचेको मोटसाइकललाई लक्षित गरी कम्पनीले पार्टपुर्जा बनाउने हुनाले पार्टपुर्जाले राम्रोसँग काम गर्दछन् । राम्ररी काम नगरको खण्डमा वारेन्टी वा ग्यारेन्टी भए साट्न वा फेर्न पाइन्छ  । 

त्यसैले आफूले प्रयोग गर्ने मोटरसाइकलको मर्मत सम्भारमा सबैले विशेष ध्यान दिनुपर्छ । यसले मोटरसाइकलको क्षमता कायम राख्दछ भने यात्रा सुरक्षित राख्न मद्दत गर्छ 

मोटरसाइकलको सर्भिसिङ गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरु

१. मोबिल र मोबिल फिल्टर परिर्वतन गर्ने

२. टायर रहेको हावा र भएको क्षतिको जाँच गर्ने

३. एयर फिल्टर सफा गर्ने  

४.स्पार्क प्लगको  जाँच गर्ने

५. चेन जाँच गर्ने र मिलाउने 

६. ब्याट्री र तारहरुको अवस्था हेर्ने

७. क्लच र ब्रेक मिलाउने 

८. हेड लाइट, ब्याक लाइट र साइड लाइट जाँच्ने 

९. फेर्नुपर्ने सामान परिवर्तन गरिहाल्ने 

१०. कार्बाेरेटर र पेट्रोलका पाइपहरु सफा गर्ने 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राेशन केसी

केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया