रवीन्द्र अधिकारीको त्यो अधुरो वाचा....

 फागुन १६, २०७६ शुक्रबार ७:४:४० | रासस
unn.prixa.net

काठमाण्डौ - ‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिएँ ।

'भोलिपल्ट बिहीबार दिउँसो ४ बजे मन्त्रालयमै भेट्ने कार्यक्रम थियो तर तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको वाचा अधुरै रह्यो’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले भन्नुभयो ।

विसं २०७५ फागुन १५ गते उहाँ तेह्रथुम लाग्नुभयो । दिउँसो होटल हिमालयको एक कार्यक्रममा भएको बेला ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटना भयो भन्ने खबर आयो । 

सुरुमा त म स्वयं हेलिकप्टर दुर्घटनामा परेको भन्ने बारम्बार आफन्त र शुभेच्छुकको फोन आयो’, उहाँले भन्नुभयो, ‘किनकि मेरै क्षेत्र भएर पनि होला त्यसरी फोन आएको, सायद मैले जिन्दगीमै पहिलो पटक त्यति धेरै फोन 'रिसिभ' गरेको थिए । 

दुर्घटनाको वास्तविकता बुझ्न सबै संयन्त्र परिचालन गरेँ, सुरुमा पत्याउनै गाह्रो भयो तर 'होनहार दैव नटार' भने झैँ यथार्थलाई नकार्न सकिएन, त्यसलाई स्वीकार्नुबाहेक मसँग अर्को विकल्प थिएन ।
    
ठिक एक वर्षअघि आजैका दिन ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटन मन्त्री अधिकारीसहितको दुःखद् निधन भएको प्रथम स्मृति सभामा आफ्ना सहपाठीको स्मरण गर्दै हुनुहुन्थ्यो पर्यटनमन्त्री भट्टराई । 

मन्त्रालयमा आयोजित स्मृति सभामा अधिकारीसँगको व्यक्तिगत सम्बन्ध, राजनीतिक जीवनका तितामीठा अविस्मरणीय सन्दर्भ कोट्याउँदै मन्त्री भट्टराईले उहाँकै स्मरणमा केही शब्द खर्चिनुभयो । अधिकारीसँग पर्यटन मन्त्री भट्टराईको निकै सहकार्य थियो । 

विसं २०४३ देखि सँगै एउटै विद्यार्थी सङ्गठनमा काम गरेको र अधिकारीको मृत्युको क्षणसम्म पनि अनवरत विवादरहित सहकार्य रहेको मन्त्री भट्टराईले सुनाउनुभयो । आफूले एक जना असल नेता गुमाएको उहाँले स्मरण गर्नुभयो ।   

त्यस दिन ताप्लेजुङको मौसम बिग्रिएको थियो । झण्डै १२ हजार फिट अग्लो स्थानमा रहेकोे पाथीभराको मौसम छिनछिनमा हिउँ र पानी पर्ने भइरहेको थियो । मान्छेलाई नै उडाउने गरी हावाहुरी चलेको छ । 

पाथीभरा दर्शनका लागि आएका धेरै तीर्थयात्री बीचबाट फर्किएका थिए । महिनादिनदेखि नै त्याे क्षेत्र हिउँले ढाकेको थियो । त्यही मौसममा सरकारी कामको सिलसिलामा तत्कालीन पर्यटन मन्त्री अधिकारीलगायत सवार हेलिकाेप्टर पाथीभरा पुगेको थियो । 
    
तेह्रथुमको चुहानडाडाँमा विमानस्थलको अवलोकन तथा अध्ययन गर्न गएको टोलीलाई प्रसिद्ध धार्मिक स्थल पाथीभराको दर्शन गरेर फर्कने चाहना पलायो । हेलिकाेप्टर त्यसतर्फ मोडियो । हिउँ र कोइरोकाबीच मन्दिर परिसरमा होलिकाेप्टर अडियो । 

मन्त्रीसहित सबैले पूजाआजा गरेर फर्कने बेला बेइमानी मौसमको भर थिएन तै पनि झन् बिग्रने हो कि भनेर हेलिकप्टर उड्ने निर्णय लिएपछि केही क्षणमै हेलिकाेप्टर दुर्घटना भयो । 
    
त्याे घटनामा मन्त्री अधिकारीसहित उहाँका अङ्गरक्षक अर्जुनकुमार घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणकै निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, यती एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा र पाइलट प्रभाकर केसीको निधन भएको थियो । 

घटना दिउँसो साढे १ भएकाे थियो, उद्धारका लागि काठमाण्डौबाट गएको सेनाको हेलिकाेप्टर अपराह्न साढे ४ बजे सुकेटार विमानस्थल पुगेको थियो । उद्धार टोलीलगत्तै घटनास्थल पुगेर शव सङ्कलन गरेका थिए । 

अनकन्टार भौगोलिक अवस्था दुर्घटनामा परेकाको उद्धार गर्न निकै कठिन थियो । दुर्घटनाको झण्डै २४ घण्टापछि सबै जनकाे शव निकालिएको थियो । त्यस दुर्घटनाले नेपालमा राम्रो राजनीतिक सम्भावना बोकेका संसदीय अभ्यासका साथै विकास र प्रशासनमा समेत दखल भएका व्यक्ति मन्त्री तथा पर्यटन क्षेत्रका अग्रज व्यक्ति शेर्पा र कुशल प्रशासकसहितलाई गुमाएको दर्दनाक क्षण भएको मन्त्री भट्टराईले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मेरो घनिष्ट मित्रलाई दुःखद् क्षणमा सम्झनुपर्दा हामीले एकअर्काको कमीकमजोरीबारे जानकारी दियौँ, राजनीतिक जीवनका हरेक मोड र अप्ठ्यारामा अनेकन आरोहअवरोह पार गरेर हामी नजिकै थियौँ ।’

स्व. अधिकारीको जन्म विसं २०२६ कास्कीको मदनपोखरामा भएको थियो । सानैदेखि तेज विद्यार्थीका रुपमा परिचित अधिकारीले विद्यार्थीको अगुवाका रुपमा काम गर्नुभयो । उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुनुभयो । 

पछि अनेरास्ववियुको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा पुग्नुभयो । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य, संसद्को विकास समितिको सभापतिको भूमिका निर्वाह गर्नुभएका अधिकारीले संविधान निर्माणका क्रममा देखिएका असहमतिका विषयको किनारामा समेत महत्वपूर्ण भूमिका खेल्नुभयो । 

पर्यटनमन्त्री भट्टराईले दिवङ्गत भएकाको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया