दूधजन्य शिशु आहारमा 'मेलामाइन' मिसाउन अनुमति दिएका छैनाैँ : खाद्य विभाग

 फागुन १६, २०७६ शुक्रबार १०:९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधजन्य शिशु आहारमा विषाक्त पदार्थ मिसाउन पाउने गरी मापदण्ड नबनाएको बताएको छ ।

दूधमा मानिसको स्वास्थ्यलाई असर गर्ने रसायन मेलामाइनको मात्रा निर्धारणका लागि मापदण्ड बनाएको विषयलाई मेलामाइन मिसाउन पाइने व्यवस्था गरिएको भनेर समाचार आएको थियाे । तर याे गलत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

पशु आहार तथा घाँसका कारण दूधमा मेलामाइन हुने तर मापदण्ड नभएकाले कतिसम्म मेलामाइन रहनु ठिक हुने र कतिभन्दा धेरै भए कारबाही गर्ने भन्ने नभएकाे उहाँले बताउनुभयाे । प्रति एक किलो दूधमा एक मिलिग्रामभन्दा धेरै मेलामाइन नहुने गरी मापदण्ड बनाएर अनुमगन गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।

शिशुको आहारमा मेलामाइन मिसाउन अनुमति दिएको खबर सार्वजनिक भएपछि विभागले सूचना निकालेर अन्तर्राष्ट्रिय मापदण्ड र नेपाल सरकारले निर्धारण गरेको मापदण्डअनुसार मापदण्ड तोकि अनुगमन तथा कारबाही गरिरहेको जनाएको छ । विभागले सबै प्रकारका खाद्यवस्तुको अनुगमन तथा परीक्षण गर्ने गरेको र खाद्य ऐन २०२३ अनुसार नभएको पाइए कारबाही गर्ने पनि बताएको छ ।

बिहीबार बालबालिकालाई खुवाइने तरल तथा धुलो दूध तथा दूधजन्य पदार्थमा मेलामाइन रसायन मिसाउन अनुमति दिएको खबर सार्वजनिक भएको थियो । मेलामाइन विषाक्त पदार्थ भएको र यसलाई दूधमा मिसाउन दिने हो भने मानिसको मिर्गाैलामा समस्या पार्नुको साथै मुत्रथैली क्यान्सरको जोखिम बढ्ने डाक्टरहरुले बताएका छन् ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया