इनिएष्टा जापानी क्लब कोबेबाट खेल्ने

 जेठ ११, २०७५ शुक्रबार १४:१५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ११ – स्पेनीस महारथी क्लब बार्सिलोनाका मिडफिल्डर आन्द्रेई इनिएष्टा अब जापानी क्लब भिस्सेल कोबेबाट खेल्ने भएका छन् ।

स्पेनलाई विश्वकप जिताउँदाका महत्वपूर्ण खेलाडीसमेत रहेका इनिएष्टाले ३ वर्षका लागि जापानी क्लब कोबेमा अनुबन्धनका लागि हस्ताक्षर गरेका हुन् । उनी वार्षिक ३ करोड अमेरिकी डलरमा अनुबन्ध भएका हुन् । क्लबमा अनुबन्ध हुनु आफ्ना लागि विशेष दिन रहेको उनले प्रतिक्रिया दिएका छन् ।

बार्सिलोना छोडेपछि मलाई बग्रेल्ती अफरहरु थिए तर एउटा उदीयमान क्लबका रुपमा मैले कोबेबाट खेल्ने निर्णय गरेको हुँ, इनिएष्टाले भनेका छन् । ३४ बर्षीय इनिएष्टाले खेलाडीका रुपमा बार्सिलोनाबाट ३२ वटा महत्वपूर्ण ट्रफि उचालेका छन् । बार्सिलोनाबाट ८ नम्बरको जर्सिमा ६ सय ७४ खेल खेलेका इनिएष्टा कोम्बेबाट पनि ८ नम्बरकै जर्सि लगाएर खेल्नेछन् । क्लवका मालिक हिरोशी मिकितानीले जापानी लिगमा इनिएष्टाको उपस्थिति र उनको नेतृत्व क्लवका लागि मात्र नभएर सिंगो जापानी फुटबलकै लागि प्रेरणा बन्ने विश्वास ब्यक्त गरे ।

इनिएष्टाले कोम्बेमा आर्सनलका पूर्व खेलाडी लुकास पोडोलोस्कीसँगै खेल्नेछन् । पोडोलोस्कीले ट्वीट गर्दै इनिएष्टालाई स्वागत गर्न आतुर रहेको बताएका छन् । खेल जीवनको उत्तरार्धतिर रहेका धेरै खेलाडी कुस्त पैसा लिएर चिनियाँ क्लबमा अनुबन्धित हुने क्रमलाई तोड्दै इनिएष्टा भने जापानी क्लबमा अनुबन्ध हुनुले धेरैलाई आश्चर्यमा पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया