कोरोनाको संभावित जोखिम कम गर्न लुक्ला विमानस्थलमा 'हेल्थ डेस्क'

 फागुन २५, २०७६ आइतबार ९:२३:११ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - कोरोना भाइरसको संभावित जोखिम कम गर्न तेञ्जिङ  हेलारी विमानस्थल लुक्लामा 'हेल्थ डेस्क'को स्थापना गरिएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेर यात्रुको स्वास्थ्य परीक्षण गर्न सुरु गरेको हो । 

शनिबारदेखि सञ्चालन गरिएको हेल्थ डेस्कमा बिहान ५ बजेदेखि नै दुई जना स्वास्थ्यकर्मी खटिएको विमानस्थलका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो ।  हेल्थ डेस्कमा शङ्कास्पद बिरामी फेला परे थप अनुसन्धान र उपचारका लागि काठमाण्डौ पठाइने गाउँपालिकाले जनाएको छ । 

पर्यटकीय क्षेत्र भएकाले विमानस्थलमार्फत खुम्बु भित्रिने पर्यटक स्वास्थ्य परीक्षण गर्नका लागि हेल्थ डेक्सको स्थापना गरेको प्रमुख प्रसाशकीय अधिकृत विनोद भटराईले जानकारी दिनुभयो । 

शनिबार पहिलो दिन ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । अहिले खुम्बु क्षेत्रमा पर्यटकीय सिजन सुरु भए पनि कोरनाकै कारण चहलपहल कम छ । अहिले दैनिक ५० देखि ६० जनासम्म पर्यटक खुम्बु क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।

त्रिभुवन विमानस्थलबाट हवाई मार्ग हुँदै सगरमाथा क्षेत्र घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक तेञ्जिङ हिलारी विमानस्थल लुक्ला आउँछन् । 

यस क्षेत्रका मानिसहरुको मुख्य आम्दानीको श्रोत नै पर्यटन हो । तर यस वर्ष कोरनाका कारण पर्यटन क्षेत्रमा ठूलो असर परेकाे भन्दै व्यवसायी चिन्तित छन् । 

करोडौं लगानी गरेर पर्यटक लक्षित होटल/पसल सञ्चालन गरेको भए पनि पर्यटक नआउँदा आफूहरु चिन्तित बनेको नाम्चेका होटल व्यवासायी लामाकाजी शेर्पाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया