कोरोनाको सही सूचना दिने सरकारको आधिकारिक निकाय खै ?

 फागुन २५, २०७६ आइतबार १३:०:४३ | सम्पादकीय
unn.prixa.net

फाइल फाेटाे

व्यापार व्यवसाय र विकास निर्माणको काममा असर परे पनि नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण फैलिएको छैन । चीनको वुहानबाट उद्धार गरेर ल्याइएका नेपाली र अरु शङ्कास्पद बिरामीको नमुना परीक्षण गर्दा सबैको 'नेगेटिभ' भेटिएको छ । यसअघि सङ्क्रमित देखिएका एक जना निको भएर फर्किसकेका छन् । विदेशमा रहेका नेपालीलाई पनि अहिलेसम्म काेभिड–नाइन्टिनकाे सङ्क्रमण भएको आधिकारिक जानकारी छैन ।

छिमेकी देश चीनबाट सुरु भएर खाडी, अमेरिका, युरोप, अस्ट्रेलिया हुँदै अर्को छिमेकी देश भारतसम्म फैलिँदासमेत नेपालमा कोरोनाको सङ्क्रमण नदेखिनु आफैमा सुखद पक्ष हो । तर दुःख र चिन्ताको कुरा, कोरोना सङ्क्रमणभन्दा धेरै डर, त्रास र भ्रम कोरोनाकै नाममा फैलिएको छ । नागरिकलाई सचेत र सजग बनाउने नाममा सरकारी निकायहरु नै जथाभाबी सूचना र निर्देशन दिएर डर, त्रास र भ्रम फैलाउँदैछन् ।

भ्रमित सूचनाको कुरा गर्न शिक्षा मन्त्रालयको निर्देशन नै काफी छ । मन्त्रालयले सबै विद्यालयलाई निर्देशन दिँदै कोरोनाको सङ्क्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच निरन्तर छलफल गर्नु र गराउनु भनेको छ । साथै सकेसम्म भिडभाड भएको ठाउँमा नजानु पनि भनेको छ । त्यसो भए कोरोनाको सङ्क्रमणबाट बच्न शिक्षक र विद्यार्थीबीच कक्षा कोठामा हुने छलफललाई भिड मान्ने कि नमान्ने ? कतिसम्मलाई भिड मान्ने ? कक्षाकोठामा छलफल गर पनि भन्ने, भिडभाडमा नजाऊ पनि भन्ने ? शिक्षक र विद्यार्थीले यस्ता भ्रमपूर्ण निर्देशनबाट के निष्कर्ष निकाल्ने ?  

यो त भ्रम र अन्योलको कुरा भयो । आम नागरिकलाई त्रस्त पार्न चाहिँ जिल्ला प्रशासन कार्यालय र पालिकाहरुबीच नै होड चलेको देखिन्छ । सबैभन्दा पहिले जिल्ला प्रशासन कार्यालय काठमाण्डौले कोरोना सङ्क्रमणको डर देखाउँदै होली नखेल्न भन्यो । उसको सिको गर्दै अरु प्रशासन कार्यालयले पनि यसैगरी सूचना प्रकाशित गरे । कतिपय पालिकाले चाहिँ कोरोनाको जोखिमबाट बच्न जडीबुटी र बेसार पानी खान भने । कतिपयले घरबाटै ननिस्कन भनिरहेका छन् । तर कतिपय पालिकाको अगुवाइमा कोरोना रोकथाम गर्ने प्रचारप्रसारको नाममा जुलस जात्रा पनि निस्किरहेका छन् । 

अनि कोरोनाको सङ्क्रमणबाट बच्न डाक्टरैपिच्छे फरक–फरक सल्लाह सार्वजनिक भइरहेको छ । कोही भन्छन्, मास्क लगाउनुपर्छ । कोही भन्छन्, बिरामीले र उसलाई रेखदेख गर्नेले मात्र मास्क लगाए पुग्छ, अरुले लगाउन पर्दैन । अनि कसैको भनाइमा मास्कले सङ्क्रमण रोक्छ, कसैको भनाइमा मास्क लगाउनु र नलगाउनुमा केही फरक छैन ।

एउटा सरकारी निकाय भन्छ, भेला र जमघटमा सामेल नहुनू । अर्को सरकारी निकाय भन्छ, कोरोनाको सङ्क्रमणबाट बच्ने उपायबारे आपसमा भेला भएर छलफल चलाउनू । सरकारी निकायकै यस्ता परस्पर विरोधी निर्देशन र सूचनाले नागरिकलाई भ्रमित र त्रसित बनाइरहेको छ । अनि कोरोनाको सङ्क्रमण नै फैलिए झैँ गरी प्रचारप्रसार भइरहेको छ ।

सङ्कट र विपद्को अवस्थामा राज्यको सूचना प्रणाली र निर्देशनको आधिकारिक स्रोत एउटा हुनुपर्छ । अहिले राज्यका सबै अङ्ग, निकाय र जिम्मेवार पक्ष आ–आफ्नै ताल र ढङ्गमा चलेका छन् । जसको परिणाम नागरिकमा सचेतनाभन्दा बढी डर, त्रास र भ्रम फैलिएको छ । 

यही त्रासले कतिपय घरबाट निस्कन छाडेका छन् । कतिपय चाहिँ कोरोना फैलियो भने बजारमा हाहाकार हुन्छ भन्दै दाल, चामल र ग्यास तरकारी थुपार्न लागेका छन् । मौका यही हो भनेर कतिपय व्यापारी कृत्रिम अभाव र कालोबजारी गर्दैछन् । 

सरकारको जिम्मेवार एक निकायबाट आधिकारिक र सही सूचना तथा जानकारी दिनुको सट्टा सरकारी निकायबीच जथाभाबी हल्ला गर्ने होडले यस्तो भएको हो ।

त्यसैले कोरोनाको जोखिम र पूर्वतयारीबारे जानकारी दिन सरकारको तर्फबाट एउटामात्र निकायले नेतृत्व लिनुपर्छ । उसले मात्र सही सूचना र निर्देशन दिनुपर्छ । त्यही सूचनालाई आधिकारिक मानेर तल्ला निकायले नागरिकसम्म पुर्‍याउनुपर्छ । यसो भयो भने मात्रै कोरोनाबारेको अनावश्यक डर, त्रास र भ्रमको अन्त्य हुन्छ । 

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Bhim gurung

    March 9, 2020, 5:59 a.m.

    Appropriate suggestions to concerning sectors, Well done!

  •  0 Reply

तपाईको प्रतिक्रिया