कोरोना भाइरस : इटलीपछि स्पेन बन्यो सङ्क्रमणको दोस्रो ठूलो केन्द्र

 चैत १०, २०७६ सोमबार २०:५५:५६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – चीनपछि युरोप कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणको केन्द्रबिन्दु बनेको छ । युरोपमा इटलीपछि स्पेनमा सबैभन्दा धेरै गम्भीर अवस्था सिर्जना भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार बेलुकी ९ बजेसम्म स्पेनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार दुई सय सय नाघेको छ ।

स्पेनमा आइतबार एकैदिन तीन सय ९४ जनाको भाइरसको सङ्क्रमणबाट ज्यान गएको थियो । स्पेनमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३३ हजार ८९ पुगेको छ । 

सङ्क्रमितमध्ये तीन हजार तीन सय ५५ जना उपचारपछि घर फर्किएका छन् भने दुई हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ । 

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गएको शनिबार यो महामारीसँग लड्न सरकार जे आवश्यक पर्छ त्यो गर्ने बताएका छन् । 

उनले नागरिकहरुलाई सचेत गराउँदै भनेका थिए, ‘अझै खराब समय आउन बाँकी छ ।’

स्पेनमा कोरोना भाइरससँग लड्नका लागि आपत्काल घोषणा गरिएको छ । गएको १५ मार्चमा लगाइएको आपत्काल अझै बढाउने योजना छ । 

स्पेनको राजधानी मड्रिड कोरोना भाइरस महामारीको केन्द्र बनेको छ । 

प्रधानमन्त्रीका अनुसार शहरमा रहेका पुराना घरलाई सेनाले स्यानिटाइज गरिरहेको छ । इटलीमा निम्तिएको खतरनाक स्थितिपछि अब स्पेन पनि अनेक उपाय अपनाइरहेको छ । 

मानिसहरुलाई सार्वजनिक स्थानबाट टाढा राख्न कडा कानुन अपनाइएको छ । उनीहरुलाई घरभित्रै रहन भनिएको छ । 

झण्डै पाँच लाख वर्ग किलोमिटरमा फैलएको स्पेनको जनसङ्ख्या चार करोड ६७ लाख छ । स्पेनको जनसङ्ख्यामध्ये ६५ वर्षभन्दा माथि उमेरका मानिसहरुको प्रतिशत १७ छ । 

स्पेनमा कोरोना भाइरसको पहिलो सङ्क्रमण गएको जनवरी ३१ तरिखमा देखिएको थियो । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया