खाडीका केही देशमा कर्फ्यु र 'लकडाउन', नेपाली श्रमिक भन्छन् : सुरक्षा सतर्कता अपनाएका छौँ

मलेसिया 'लकडाउन', सचेत गराउन नेपाली सुरक्षा गार्ड परिचालन

 चैत ११, २०७६ मंगलबार १८:३९:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढेसँगै देश छाडेर परदेशमा पसिना बगाउन गएका धेरैलाई यतिबेला परिवारसँग टाढा रहेर जोखिमको सामना गर्नुपरेको छ ।

नेपालीको मुख्य श्रम गन्तव्य खाडीका ६ देशसँगै मलेसिया, दक्षिण कोरिया लेबनान लगायतका ठाउँमा पनि अहिले कोरोना सङक्रमितको सङ्ख्या बढ्दो छ । तर यूएईमा र बहराइनमा मात्र नेपालीलाई सङ्क्रमण देखिएको छ ।

यूएईमा सङक्रमित दुई जना त निको भइसकेका छन् । बहराइनमा सङ्क्रमण देखिएका तीन जना नेपालीको उपचार भइरहेको छ । बहराइनमै रहनुभएका प्रकाश चन्द्र पोख्रेल जोखिम भए पनि कम्पनीले सुरक्षाका लागि कुनै सम्झौता गरेको छैन भन्नुहुन्छ ।

‘म सेक्युरिटी कम्पनीको अपरेशन विभागमा छु, मैले काम गर्ने कम्पनीमा पाँचसय हाराहारीमा नेपाली छौं, अहिलेसम्म सबै सुरक्षित छौं,’ उहाँ भन्नुहुन्छ, ‘कम्पनीले नियमित सरसफाइमा सतर्क गराएको छ, काम गर्ने ठाउँमा र बस्ने ठाउँमा पनि सुरक्षा सतर्कता अपनाइएको छ ।’

विपदका बेला उहाँलाई परदेशमा बस्न मन त छैन । तर पनि अहिलेको अवस्थामा संसारभरी नै जोखिम भएकाले जहाँ भए पनि सुरक्षित साथ रहन उहाँ सबैलाई आग्रह गर्नुहुन्छ । 

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र हरेक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

साउदीमा रात्रीकालीन कर्फ्यु

साउदीमा अहिले रात्रीकालीन कर्फ्यु लागेको छ । अहिलेसम्म साउदीमा कार्यरत नेपाली श्रमिकका कोरोनाको सङ्क्रमण नदेखिए पनि जोखिम छ भन्नुहुन्छ पीएम दिपेन मङ्गोलिएन । रात्रीकालीन कर्फ्यु भएकाले दिउँसो काम चलिरहेको छ उहाँको कम्पनीमा । तर सुरक्षाको बारेमा कम्पनीले त्यति ध्यान नदिएकाले डर छ भन्नुहुन्छ उहाँ । 

साउदीमै कार्यरत ओखलढुङ्गाका पासाङ शेर्पा गर्जा भने कोठाबाट बाहिर निस्कनु भएको छैन । कोठामै कम्पनीले खानेबस्ने व्यवस्था गरिदिएको छ । तर लामो समयसम्म अवस्था यस्तै रहेमा के होला भन्ने चिन्ता छ भन्नुहुन्छ उहाँ । ‘यस्तो बेला त घर जाउँजस्तो लाग्दोरहेछ, अनि नेपाल पनि फर्कन नपाइने भन्ने खबर सुन्दा मन पनि दुखेको छ,’ पासाङ गुनासो गर्नुहुन्छ । एक महिनासम्मलाई खानको चिन्ता छैन ।

कुनै समस्या परिहालेमा दूतावासको सहयोग लिने सोचमा छु भन्नुहुन्छ उहाँ । सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिन सकिन्छ । अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्न सकिन्छ । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा फोन गर्न सकिन्छ । 

इभर गोर्खाली साउदीमा एक रेस्टुरेन्टमा काम गर्नुहुन्छ । मानिसहरुको आवातजावत कम भए पनि रेस्टुरेन्ट खुलेको छ भन्नुहुन्छ उहाँ । तर दुई महिनादेखि तलब पाउनुभएको छैन । 

कतारमा दूतावासको भूमिका निष्क्रिय

कतार सरकारले सावधानी अपनाएकाले डराउनु पर्ने अवस्था छैन भन्नुहुन्छ, भगवान बोगटी । उहाँले काम गर्ने कम्पनीलाई नै क्यारेन्टाइन बनाइएको छ । श्रमिकलाई नियमित जाँच गर्ने र खान बस्नको समेत राम्रो व्यवस्था भएकाले घरपरिवारलाई चिन्ता नगर्न भन्नुहुन्छ, उहाँ ।

कोही पनि व्यक्तिलाई अत्यावश्यक काम बाहेक बाहिर निस्कन दिइएको छैन भन्नुहुन्छ सिताराम अधिकारी । सरकारले नजानु, नगर्नु भनेको ठाउँमा जानेलाई पक्राउ गर्ने गरेकाले पनि सावधानी अपनाउन उहाँ सुझाव दिनुहुन्छ । ‘सनैया लगायतका क्षेत्रमा बाहिर निस्कन र घुम्न प्रतिबन्ध लगाएकाले यस्तोबेला कोठामै बस्नुहोला, म पनि कोठामै बसिरहेको छु,’ उहाँ भन्नुहुन्छ । 

कतारमै कार्यरत राजन सुबेदी भने अहिले विपदका बेला नेपाली श्रमिकको समस्या समाधानका लागि दूतावासले भुमिका निष्कृय भयो भन्नुहुन्छ । कतार सरकारले बिना कारण नेपाली लगायत अरु देशका नागरिकलाई पक्राउ गर्दै देश निकाला गर्दा अरु देशले आफ्ना नागरिको हितमा बोले पनि नेपाली दूतावासले त्यस्तो पहल नगरेको उहाँको भनाई छ । 

‘फोन नलाग्ने र लागिहाले पनि नउठ्ने दूतावासको पहिलेदेखिकै परम्परा हो, यस्तो विपदका बेला दूतावास थप चनाखो हुनुपर्छ,’ राजन भन्नुहुन्छ । 

कुवेतमा पनि कर्फ्यु

कुवेत सरकारले कोरोनाको सङक्रमण रोकथामका लागि बेलुकी पाँच बजेदेखि बिहान ४ बजेसम्मको कर्फ्यु लगाएको छ । अघिपछि पनि लकडाउन भएकाले बाहिर हिँडडुल गर्न समस्या छ भन्नुहुन्छ, आदिप मोक्क्तान । उहाँ कुवेतमा एक रेष्टुरेन्टमा काम गर्नुहुन्छ । तर अहिले बन्द छ । काम नहुँदा होम क्वारेन्टाइनमा बस्नुभएको छ उहाँ । 

नबिन तामाङको कम्पनीले भने काम लगाइरहेको छ । बिहान चारबजेदेखि दिउँसो ३ बजेर ३० मिनेटसम्म काम गर्नुहुन्छ, उहाँ । कम्पनीले सुरक्षा सतर्कतामा खासै ध्यान नदिएकाले जोखिम महसुस भएको छ, उहाँलाई । भन्नुहुन्छ, ‘कम्पनीले मास्कको व्यवस्था पनि गरेको छैन, घर फर्कन मन छ तर कसरी फर्कन सकिन्छ होला र ?’

दिलकुमार पाख्रिनले काम गर्ने कम्पनीले भने कर्फ्युका कारण काम गर्ने समय तालिका फेरबदल गरेको छ । यो बेला काम र कमाइ भन्दा पनि ज्यानको सुरक्षामा ध्यान दिन सबैलाई उहाँको अनुरोध छ ।

कुवेतमा सार्वजनिक क्षेत्रमा भेला भएर नबस्न र घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न भनेको छ । स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गरेर आफ्नो अवस्थाबारे जानकारी गराउन सकिन्छ । २२ दिन अघि कुवेत जानुभएका गौरव बिक्रम कुँवर अहिले होम क्वारेन्टाइनमा बस्नुभएको छ । तर जोखिम जताततै भएकाले डर छ भन्नुहुन्छ उहाँ । ‘कामको टुङ्गो छैन, स्यानेटाइजर, मास्क र गोलोब त छ तर सतर्कता अपनाउँदा अपनाउँदै पनि मनमा डर भने लागिरहन्छ,’ उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ ।

 यूएई : कोरोना सङक्रमित दुई नेपाली निको भए

यूएईमा दुई जना नेपालीलाई कोरोना सङ्क्रमण भएको थियो । तर दुवै जना निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । अरु नेपालीले सावधानी अपनाएर काम गरिरहेका छन् ।

मिनसागर लामाको कम्पनीले अहिले बिदा दिएको छ । घर आउने तयारीमा पनि हुनुुहुन्थ्यो तर अहिले बन्द भएकाले आउन पाइएन भन्नुहुन्छ उहाँ । 

‘जहाज चल्न थाल्ने बित्तिकै घर फर्कने हो, यस्तो दुःखका बेला नि परदेशमा एक्लै बस्न पर्‍यो,’ उहाँ गुनासो गर्नुहुन्छ ।

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्न सकिन्छ । आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ ।

मलेसिया लकडाउन, सचेत गराउन नेपाली सुरक्षा गार्ड परिचालन

प्रकाश सिंह ठकुरी अहिले मलेसिया सेक्युरिटी गार्डको काम गर्नुहुन्छ । मलेसियामा लकडाउन भएकाले त्यसको पालनाका लागि अहिले नेपाली सुरक्षा गार्डलाई खटाइएको छ भन्नुहुन्छ उहाँ । ‘अहिले हामीले नै लकडाउन पालना गराउन काम गरिरहेका छौं, साथै होटल र पसलहरु पनि खुल्ला छ तर चहलपहल काम छ,’ उहाँ भन्नुहुन्छ ।

सेक्युरिटीकै काम गर्ने बद्री पौडेललाई भने सुरक्षा गार्डको काम गर्नेलाई सुरक्षाको ध्यान दिइएन भन्ने लागेको छ । अरु काम र कम्पनीहरु बन्द भए पनि सेक्युरिटीको काम झन थपिएको छ, तर सुरक्षा भने चाहिनेजति नभएको उहाँको गुनासो छ । 

हबिन लिम्बू कार्यरत कम्पनी भने अनिश्चितकालका लागि बन्द छ । उहाँसहित त्यसकम्पनीमा कार्यरत सबैजना त्यही होटलमै बसिरहेका छौं, भन्नुहुन्छ उहाँ ।

‘अत्यावश्यक सामान किन्न बाहेक हामी बाहिर निस्किएका छैनौं, हात सँगसँगै होस्टेलको फ्लोर पटकपटक सफा गरेका छौं, बाहिर निस्किदा अनिवार्य मास्क र पन्जा प्रयोग गरेका छौं, सामान किनेर आए पछि जाँदा लगाएको लुगा सर्फ पानीमा र हातखुट्टा राम्ररी धुने गरेको छौं, सेनिटाइजरको व्यावस्था पनि गरेको छौं, कुनै समस्या परेमा एचआर म्यानेजरलाई खबर पनि गछौं,’ हबिन आफूले अपनाएको सुरक्षा सतर्कताको बारेमा सुनाउनुहुन्छ । 

कोठाभित्रै बसे पनि मलेसियामा कोरोनाको सङक्रमण दिनहुँ बढेकाले डर पनि बढेको छ भन्नुहुन्छ हबिन । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया