कोरोना त्रास : गाडी र एम्बुलेन्सका चालक भागाभाग, ‘सङ्क्रमित’ खोज्न प्रजिअ आफैँ गाउँमा

 चैत १३, २०७६ बिहिबार १८:५४:३८ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – कोरोना भाइरसबाट सङ्क्रमित युवतीसँगै हवाई जहाज चढेर आएका स्याङ्जाका ६ जनालाई खोज्न पठाउँदा गाडी र् एम्बुलेन्सका चालकको भागाभाग भएपछी प्रजिअ रामबहादुर कुरुम्बाङ आफैँ उनीहरुको खोजीमा निस्कनुभएको छ ।

गृह मन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम र नागरिकता नम्बर मात्रै थियो । ‘त्यसपछि हामीले उनीहरुको विवरण खोज्न थाल्यौँ,’ स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भन्नुभयो, ‘६ जनाको विवरण खोजेर सम्पर्क गर्दा उनीहरु सबैतिर छरिएका पायौँ । त्यसपछि हामी उनीहरुलाई क्वरेण्टीनमा ल्याउन सक्रिय भयौँ ।’ 

उनीहरुको खोजबिन चलिरहेकै बेला टक्सारमा रहेका एक यात्रुलाई जब लिन जानुपर्ने अवस्था आएपछि स्याङ्जा सदरमुकाममा रहेका सरकारी गाडी र एम्बुलेन्सका चालक भागाभाग भए । गाउँमा रहेका यात्रुलाई लिन जान कोही तयार भएनन् ।

प्रजिअ कुरुम्बाङसँगै रहेका जिल्ला रेडक्रसका पदाधिकारीले भने, ‘उहाँले यति छिटो र सहज रुपमा निर्णय गर्नुभयो कि गाउँमा रहेको यात्रु ल्याउन प्रजिअसँग मलाइ नै जानुपर्ने भयो ।’

रेडक्रसका पदाधिकारीले थपे, ‘हामी हेरेको हेर्यै भयौँ । किनभने सवारी थिए तर चालक कोही थिएनन् । सबै गायब भइसके । रेडक्रसमा लागेर वर्षौसम्म सेवा गरिसकेको व्यक्ति भएकोले मैले प्रजिअसँग गएर सहयोग गर्ने निर्णय गरेँ ।’

सवारी चालकलाई कारबाही 

गाउँ जान नमान्ने कोष तथा लेखा नियन्त्रण कार्यालयका सवारी चालकलाई प्रजिअ कुरुम्बाङले कारबाही गर्न निर्देशन दिनुभएको छ । उहाँले सवारी चालकलाई भोलिदेखि काममा नआउनू भन्दै कुरुम्बाङले चालकविरुद्ध कारबाही प्रक्रिया सुरु गर्न कोलेनिकाका प्रमुखलाई निर्देशन दिनुभयो । सेवाबाट भाग्ने अन्य सवारी चालकलाई समेत कारबाही गरिने प्रजिअ कुरुम्बाङको भनाइ छ । 

को कहाँ छन् 

काठमाण्डौकी सङ्क्रमित युवतीसँगै जहाजमा नेपाल आएका यात्रुहरुको सरकारले खोजी गर्ने क्रममा स्याङ्जाका छ जना भेटिएका छन् । छ जनामध्ये हाल रुपन्देहीमा रहेका एक जनालाई त्यहीको क्वरेण्टीनमा बस्न भनियो । पोखरामा रहेका दुई जनामध्ये एक जनालाई स्याङ्जा ल्याइँदैछ भने अर्का एक जनालाई पोखराकै क्वरेण्टीनमा राखिएको छ ।

भिरकोटका १ जना नजिकै रहेकाले क्वरेण्टीनमा राखियो । टक्सारबाट ल्याइएका एक जनालाई पुतलीबजारमा रहेको क्वरेण्टीनमा राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य छ ।

फेदीखोलाका एक जनाको  परिवारमा सबैलाई ज्वरो आएकोेले बारेमा अलि बढी ख्याल गर्नुपर्ने अवस्था आएको प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरु सबैको स्वाब सङ्कलन गरेर परीक्षणको लागि बिहीबारै टेकु पठाइएको छ । त्यसको नतिजा शनिबारसम्म आउने छ ।

सचेत र होसियार रहनुपर्ने

सङ्क्रमित युवतीसँगै एकै जहाजमा यात्रा गरेकाले जिल्लाका ६ जनाको खोजी गरिएको हो । उनीहरुलाई क्वरेण्टीनमा राखिएको छ । उनीहरुमा त्यस्तो कुनै समस्या देखिएको छैन । त्यसैले उनीहरुका परिवार तथा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई सान्त्वना दिँदै प्रजिअ कुरुम्बाङले भन्नुभयो, ‘सचेत र होसियार भने सबै बन्नुपर्दछ ।’  

फेदीखोलाका एक पुरुष र उनको परिवारबाहेक कसैमा कुनै समस्या भेटिएको छैन । उनको परिवारमा धेरै जनामा ज्वरो आएकोले सतर्कता अपनाइएको प्रशासनको भनाइ छ । आत्तिहाल्नुपर्ने अवस्था भने छैन । 

रेडक्रस र स्थानीय सरकारको साथ

कोरोना भाइरसको सन्दर्भमा जिल्लाको अवस्था सामान्य बनाइराख्न सक्रिय रहनुभएका प्रजिअ कुरुम्बाङलाई रेडक्रस स्याङ्जाले साथ दिएको छ । रेडक्रसका मन्त्री दिनेश अर्यालले कोरोना रोकथामका लागि विभिन्न काम भइरहेको जानकारी दिँदै प्रजिअसँगै आफू गाउँगाउँ पुगेको बताउनुभयो ।

त्यस्तै जिल्लाका ११ वटै स्थानीय सरकारले कोरोनाको रोकथामका लागि निकै सक्रियता देखाएका छन् । वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले भन्नुभयो, ‘हाम्रो टोली गाउँ गाउँमा सक्रिय छ । विदेशबाट आएकाहरुको सबै विवरण सङ्कलन गरी उनीहरुको अवस्थाबारे जानकारी लिइसकिएको छ ।’ 

विदेशबाट आएकाहरुलाई होम क्वरेण्टीनमा बस्न भनिएको छ र कुनै समस्या भए तत्कालै सम्पर्क गर्न समेत आग्रह गरिएको छ । उनीहरुलाई आवश्यकताअनुसार नगरपालिकाले बनाएको क्वरेण्टीनमा राखिने खाँडले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १०, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया