चीनबाट उपकरण र औषधी कहिले आउँछ भन्ने खसखस सबैलाई छ, जवाफ कसैसित छैन

 चैत १३, २०७६ बिहिबार २०:५६:३४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ - चीनबाट कोरोना भाइरसको जाँच, औषधि र थप उपकरण लिन नेपाल एअरलाइन्सको जहाज शुक्रबार चीन जाने भयो रे । विभिन्न सञ्चारमाध्यम अनि सामाजिक सञ्जालमा यसको धेरै चर्चा भयो । सरकार तात्तिएछ, कोरोना संक्रमितको उपचारको लागि डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिम इक्युपमेन्ट (पीपीई) सहित अरु उपकरण र औषधी लिएर जहाज नेपाल आउने भयो भनेर धेरै जना उत्साहित पनि भए । 

सबैभन्दा उत्साहित डाक्टरहरु थिए  । पाटन अस्पतालका एक डाक्टर भन्दै थिए, ‘कोरोना संक्रमितको उपचार गर्दा लगाउने पीपीई नभएकोले साह्रै चिन्तित बनाएको थियो, भोलि सरकारले जहाज पठाउने भएछ खुसी लाग्यो ।’

तर नेपाल एअरलाइन्सको जहाज चीन जानको लागि हल्ला धेरै काम कम भयो । जताबाट कुरा फाइनल भए पनि आखिर चीन जाने त नेपाल एअरलाइन्स नै हो । त्यसैले यो विषयमा हामीले सबैभन्दा पहिले नेपाल एअरलाइन्ससँग कुरा गर्यौं । नेपाल वायुसेवा निगमको अपरेशन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले अहिलेसम्म सरकारको तर्फबाट चीन जाने मिति तय भएर कुनै पत्र नआएको जानकारी दिनुभयो  । 

‘हामीले २८ तारिख अर्थात शनिवार चीन जान पर्न सक्छ भन्ने मानसिकताले काम गरिरहेका छौँ, तर औपचारिक रुपमा कतैबाट पनि जानकारी आएको छैन ।’ अपरेशन विभागका प्रमुख क्याप्टेन दिपु जुहार्चनले भन्नुभयो । 

जुहार्चनले उज्यालोसँग भन्नुभयो, ‘हामीलाई कम्तीमा २ दिनअघि जानकारी आउनुपर्ने हो, नयाँ गन्तव्यमा जान हामीले धेरै प्राविधिक तयारी गर्नुपर्छ, तर अहिलेसम्म कन्फर्म भएकै छैन, तर सम्भावना नभएको पनि होइन।’

नेपाल वायुसेवा निगमका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई पनि हामीले उपकरण लिन कहिले नेपाली जहाज चीन जान लागेको हो? भनेर सोध्यौं । मन्त्रालयका सचिव र निगमका अध्यक्ष अधिकारीले पनि आफू निगमको जहाज चीन जाने बारे अनभिज्ञ रहेको जनाउनुभयो । 

उहाँले भन्नुभयो, ‘त्यस्तो केही होइन, व्यवसायिक रुपमा कसैले अनुरोध गरेमा निगमको जहाज चीन जाने भन्ने कुरा छ, तर फाइनल भए जस्तो मलाई लाग्दैन, नीजि क्षेत्रले निगमको जहाज लैजाने भन्ने सुनेको छु, अरु थाहा छैन ।’

अधिकारीले यो विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अझ धेरै थाहा हुने बताउनुभयो । 

त्यसपछि हामीले यस विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गर्यौं । मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले यो विषयमा आफूलाई थाहा नै नभएको बताउनुभयो । 

‘औषधी र औषधीधन्य कुराहरु ल्याउने तयारी छ, तर जहाज कहिले जाने र कति परिमाणमा के ल्याउने भन्ने टुंगो छैन, यसबारेमा स्वास्थ्य मन्त्रालयलाई सोध्नुहोला ।’ अर्यालले यत्ति भनेर फोन राख्नुभयो । 

पीपीई र औषधी नै नभएको बेला चीनबाट थप सामग्री कहिले आउने रहेछन भन्ने खसखसले हामीले स्वास्थ्य मन्त्रालयमा पनि बुझ्यौं ।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले उज्यालोसँग भन्नुभयो, ‘मेडिकलका सामान नीजि क्षेत्रले ल्याउने भनेको छ, उसैले ल्याउने होला, यो विषयमा मलाई भन्दा धेरै पर्यटनलाई थाहा हुन्छ, उतै सोध्नुहोस ।’

पर्यटनका सचिव केदारबहादुर अधिकारीलाई सोध्दाउहाँले उद्योग वाणिज्य तथा आपूर्तिमाबुझ्न भन्नुभएको थियो । 

त्यसैले नेपाल वायुसेवा निगमको जहाज चीन जाने र कोरोनासँग सम्बन्धित औषधी र उपकरण ल्याउने कुरा अहिलेसम्म तयारी छैन, या गोप्य नै राखिएको छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

1 Comments

  • kiran kumar bhattarai

    March 27, 2020, 8:26 a.m.

    आम जनतालाई अलमल्याउने र भ्रममा पार्ने काम सरकारको। G to G आए मात्रै, नभए भरपर्दो होइन । निजी क्षेत्र ले निजी सितै किन्ने हो ।चेकलाई बेचिएकोमा ८०% नक्कली कीट परेको समाचार अाएको छ। हिजो अस्ति सम्म नेपाललाई सबै किसीमले सहयोग गर्न चिन तयार छ भन्ने समाचार चिनियाँ राजदुतको भनाई उद्धृृत गर्दै मिडियामा समाचार बनेको थियो।खै त परिणाम?

  •  0 Reply

तपाईको प्रतिक्रिया