‘लकडाउन’ भएर के भयो, घरबाटै गर्न सकिन्छ सबै कारोबार

 चैत १६, २०७६ आइतबार १२:७:२ | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - विश्व स्वास्थ्य सङ्गठनले केही दिनअघि सबैभन्दा धेरै लेनदेन हुने पैसाको माध्यमबाट पनि कोरोना भाइरस अर्थात कोभिड–१९ को सङ्क्रमण फैलिन सक्नेतर्फ आधिकारिक रुपमै सचेत गरायो । पैसाबाट भाइरस सर्ने खतरा बढेपछि गएको फागुनमा सङ्क्रमणको उद्गमस्थल चीनको प्रभावित क्षेत्रमा ठूलो मात्रामा नोट जलाउने काम भयो । यसअघिका विभिन्न अध्ययनले पनि पैसाबाट विभिन्न भाइरसहरु सर्ने सम्भावना सबैभन्दा धेरै भएको पुष्टि गरिसकेको छ । पैसामा सुक्ष्म जीव बाँच्ने र हुर्कंने उपयुक्त वातावरण भएको न्यूयोर्क विश्वविद्यालयको अध्ययनले देखाएको छ । 

विश्वका २ सय देशमा फैलिएको कोरोना सङ्क्रमणको डरले अहिले धेरै व्यक्ति डिजिटल कारोबारतर्फ आकर्षित भइरहेका छन् । कोरोनाको कारण विभिन्न देशमा ‘लकडाउन’ भएसँगै अत्यावश्यकबाहेक कोही पनि घरबाट निस्किरहेका छैनन् । यस्तो अवस्थामा नेपालसहित विश्वभरका मानिस आवश्यक कारोबार भने नगरिकन बसिरहेका छैनन् । उनीहरु बैंक तथा वित्तीय संस्था बन्द भएपनि डिजिटल कारोबारमार्फत आफ्ना व्यापार र व्यवसायिक क्रियाकलाप गरिरहेका छन् । सङ्क्रमण सर्ने डरले मानिसहरु मोबाइल बैंकिङलगायत डिजिट कारोबारमा लाग्न थालेका छन् ।

डिजिटल सपना पूरा गर्ने अवसर

झण्डै एक दशकदेखि ‘डिजिडल नेपाल’ को बहस चल्दैछ । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र वार्षिक बजेटमा पनि स्मार्ट र डिजिटल नेपालको अवधारणा समावेश हुँदै आएको छ । 

यसअघि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पनि आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट प्रस्तुत गर्नुहुँदै ५ वर्षभित्र डिजिटल नेपाल फ्रेम वर्कको अवधारणा कार्यान्वयनमा ल्याउने घोषणा गर्नुभयो । 

घोषणाअनुरुप सबै सेवा र सरकारी आर्थिक कारोबारलाई पाँच वर्षभित्र विद्युतीय कारोबारमा रुपान्तरण गर्नुपर्ने हो । तर सबै ठाउँमा इन्टरनेटको पहुँच र डिजिटल कारोबारसम्बन्धी सचेतनाको अभावले यो लक्ष्य भेट्टाउने सम्भावना कम छ । 

कोरोना सङ्क्रमणको डरले निम्त्याएको ‘लकडाउन’ले लक्ष्य भेट्टाउन एउटा इँटा थप्ने काम गर्ने यस क्षेत्रका जानकारहरु बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थासँगै सबैभन्दा धेरै कारोबार हुने एयरलाइन्सको टिकट, बसको टिकटलगायतका क्षेत्र ठप्प भएपनि आवश्यक वस्तु किनमेल गर्न डिजिटल प्रणालीमार्फत कारोबार भइरहेको छ । 

यसले डिजिटल कारोबार गर्नुपर्छ भन्ने मानसिकतालाई दीर्घकालीन रुपमा थप मजबुत बनाएको र डिजिटल नेपाल निर्माणको अवधारणालाई पनि सहयोग गर्ने ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले उज्यालोलाई बताउनुभयो ।

बैठक बस्नदेखि बिल तिर्नसम्म डिजिटल

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भएको केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) देशका प्रमुखहरुको बैठक भिडिओ कन्फेरेन्समार्फत भयो । कोरोनाको सङ्क्रमण सार्क देशमा फैलिन नदिन रणनीति बनाउने उद्देश्यसहित प्रविधिको प्रयोग गरी भिडिओ कन्फेरेन्समार्फत छलफल भयो । 

चीनलगायत अरु देशले पनि प्रविधिको प्रयोग गरी कोरोनाको सङ्क्रमणलाई थप भयावह हुन नदिन विभिन्न देशसँग छलफल गर्यो । विश्वका विभिन्न देश अहिले ‘लकडाउन’मा छन् । ‘लकडाउन’ भएका देशहरुमा पैसाको कारोबारदेखि मानिस मानिसबीच सम्पर्क टुटिरहेको छ । यस्तो अवस्थामा भौतिक शरीरबीचको सम्पर्क नभएपनि गर्नुपर्ने आवश्यक काम भने विस्तारित प्रविधिले नै गरिरहेको छ । बत्ति र पानीको बिल मोबाइल बैंकिङमार्फत भुक्तानी भइरहेको छ । 

कसैलाई रकम दिनुपर्यो भने ‘क्यास’ नै दिनुपर्छ भन्ने छैन । डिजिटल कारोबारमार्फत समस्या समाधान गर्न सकिन्छ । यसो गर्दा व्यक्ति व्यक्तिबीच सम्पर्क नहुने, आवश्यक काम बन्ने र कोरोना सङ्क्रमणको डर पनि नहुने लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक राजन लम्साल बताउनुहुन्छ । 

कोरोनाको बिरामी पत्ता लगाउन प्रविधि

चीनपछि सबैभन्दा धेरै व्यक्तिमा एकैचोटि कोरोना भाइरसको सङ्क्रमण फैलिएको देश दक्षिण कोरिया हो । तर कोरियामा सङ्क्रमणको दर अरु देशको तुलनामा निकै कम छ । यसको प्रमुख कारण मानिस मानिसबीच भेट नभई डिजिटल प्रणालीमार्फत कोरोनाको परीक्षण हुनु हो । 

कोरोना सङ्क्रमित कुनै व्यक्ति सार्वजनिक गाडीमा चढेको छ भने तत्काल त्यसको नोटिफिकेशन सरकारी निकायसम्म पुग्ने संयन्त्र बसमा जडान भएको थियो । यसले धेरै व्यक्तिमा सङ्क्रमण फैलिन नदिन ठूलो सहयोग पुग्यो ।

नेपालमा पनि त्यस्ता एप्लिकेशन विकास गरी काम गर्न सकिने लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक लम्साल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘विभिन्न एप्लिकेशन प्रयोग गरेर कोरोना सङ्क्रमितको ट्रेसिङ गर्न सकिन्छ । सबै नागरिकको अवस्था के कस्तो छ भन्नेबारे थाहा पाउन डिजिटल प्रविधिले सहयोग गर्ने र त्यो काम नेपालले गर्न ढिलाइ गर्नु हुन्न ।’

घरमै बसेर व्यस्त

धेरै व्यक्ति कोरोनाले निम्त्याएको ‘लकडाउन’को कारण कामविहीन भएका छन् । तर प्रविधि क्षेत्रका मानिसहरु पहिलेजस्तै व्यस्त देखिन्छन् । प्रायः सबै काम इमेल र इन्टरनेटमार्फत हुने भएकोले अरु मानिसहरुसँग भेटेर नै सम्पर्कमा बस्नुपर्ने अवस्था छैन । 

‘लकडाउन’को यो समयमा उनीहरु घरमै बसेर वेभसाइट डेभलपिङ र डिजाइनिङदेखि मोबाइल बैंकिङ र डिजिटल क्रियाकलापमा व्यस्त छन् । ‘लकडाउन’ले डिजिटल बजारलाई थप बल पुर्याउने काम गरेको आईएमई–पेका प्रमुख कार्यकारी अधिकृत विकास भट्टले बताउनुभयो । कारोबार गर्ने ठाउँ पहिलेको तुलनामा कम भएपनि बैंकिङ कारोबार, रिचार्ज र बिल तिर्ने कामहरु अहिले बढेको र यसले डिजिटल युगमा प्रवेश गर्न थप सहयोग मिलेको भट्टको भनाइ छ ।

प्रविधिको विकासमा नयाँ इँटा 

डिजिटल बजारबारे जानकारी दिन र सबैलाई यसैमा समाहित गर्न यसअघि चुनौती भइरहेको थियो । तर कोरोनाको सङ्क्रमण रोक्न गरिएको ‘लकडाउन’ले यसमा थप एउटा इँटा थप्ने काम गरेको छ । 

डिजिटल माध्यमबाट कारोबार निकै महत्वपूर्ण रहेको विषयमा मानिसहरु थप जानकार बन्ने अवसर जुटेको लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक लम्साल, ईसेवाका कार्यकारी निर्देशक सापकोटा र आईएमई–पेका कार्यकारी निर्देशक भट्ट बताउनुहुन्छ । उहाँहरुको एउटै स्वर छ, ‘डिजिटल बजारको महत्त्वबारे धेरैले धेरै कुरा बुझ्न बाँकी थियो । ‘लकडाउन’ले बुझ्ने अवसर जुराइदियो ।’ 

के छन् चुनौती ?

कोरोनाले निम्त्याएको ‘लकडाउन’को कारण देशका प्रायः मानिस घरभित्र छन् । धेरै व्यक्ति इन्टरनेटको पुहुँचमा भएपनि कति मानिस इन्टरनेटको पहुँचबाहिर छन् । यस्तो समयमा ह्याकरहरु बढी सक्रिय हुन सक्ने लिभिङ विथ आईसीटीका प्रबन्ध निर्देशक लम्साल बताउनुहुन्छ । यो अवधिमा आफ्ना इन्टरनेट केन्द्रित कामहरुमा अलि धेरै ध्यान पुर्याउनुपर्ने प्रविधि क्षेत्रका जानकारहरु बताउँछन् । 

आर्थिक कारोबारदेखि सम्भव भएसम्मका सबै काम मानिसहरु एकआपसमा भेट नगरी डिजिटल माध्यमबाट गर्न सकिने भएकोले थप चुनौती रहेको आईएमई–पे र ईसेवाका कार्यकारी निर्देशकहरुको भनाइ छ । नेपालमा त्यस्ता चुनौतीको सम्भावना भएपनि आफूहरुले प्रणालीलाई निकै मजबुत बनाएकोले ढुक्क भएर कारोबार गर्न उहाँहरुको आग्रह छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया