विदेशबाट आएका र सङ्क्रमण पुष्टि भएकाको नजिक रहेका व्यक्तिको पनि कोरोना परीक्षण

 चैत १६, २०७६ आइतबार ९:२०:५८ | सजना तिमल्सिना
unn.prixa.net

काठमाण्डौ – सरकारले विदेशबाट आएका र कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएका व्यक्तिको नजिकमा रहेका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने भएको छ । 

चीनबाट औषधि र चिकित्साजन्य उपकरण आएकाले अब कोरोना परीक्षणको दायरा बढाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार चीनबाट कोरोना परीक्षण गर्ने उपकरण पनि ल्याइएकाले अब कोरोना सङ्क्रमण पुष्टि भएकाहरुको नजिकै रहेका र विदेशबाट आएकाहरु तथा उनीहरुको नजिकै बसेकाहरुको पनि परीक्षण गरिने छ । आफ्नो नजिकै कोही विदेशबाट आएको र उनीहरु क्वरेण्टीनमा नबसेको भए स्थानीय प्रशासनमा खबर गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । 

चीनबाट साढे १२ टनभन्दा धेरै औषधि र चिकित्साजन्य सामान तथा उपकरण आइतबार बिहान काठमाडौ आइपुगेको छ । सामान लिन शनिबार चीन गएको नेपाल एअरलाइन्सको जहाज आइतबार बिहान साढे ५ बजेतिर काठमाडौ आइपुगेको हो । 

जहाजले चीनको ग्वान्जाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य चिकित्साजन्य उपकरण ल्याएको छ । यस्तै चीनको सिचुवान प्रान्तले नेपाललाई कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) र थर्मोमिटर सहयोग गर्ने भएको छ । नेपाल आउने मेडिकल सामग्री जहाजमा लोड भइसकेको र छिटै काठमाडौ आइपुग्ने जानकारी दिइएको छ । चीनको अलिबाबा फाउण्डेशनले दिने किट र अन्य सामग्री पनि त्यही जहाजमार्फत आउने छ । 

यसैबीच नेपालमा अहिलेसम्म पाँच जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । अहिलेसम्म आठ सय ७५ जनाको परीक्षण गरिएकामा पाँच जनामा कोरोना भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार थप ४४ जनाको परीक्षण गर्दा एक जनामा कोरोना पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या पाँच पुगेको हो । 

गएको माघ ९ गते सङ्क्रमण पुष्टि भएको एक जना निको भइसकेका छन् भने अरु चार जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

यस्तै ललितपुर र काठमाण्डौको तीन वटा अस्पतालमा १० जनाको आइसोलेशनमा राखेर उपचार भइरहेको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा पाँच जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा चार जना र कान्ति बाल अस्पताल काठमाण्डौमा एक जना गीि १० जनाको उपचार भइरहेको हो । शनिबार कान्ति अस्पतालबाट आठ जना र पाटन अस्पतालबाट तीन जना गीि ११ जना डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया