गुल्मीमा विदेशबाट आएकाको घरमा रातो झण्डा राखिने

 चैत १६, २०७६ आइतबार २०:३०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीदरबार गाउँपालिकामा विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखिने भएको छ ।

प्रत्येक वडामा रहेका महिला स्वास्थ्य स्वयंमसेविका तथा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत सोमबारदेखि रातो झण्डा राख्न लागिएको हो । भारत वा अन्य देशबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले उनीहरुको पहिचानका लागि रातो झण्डा राख्न लागिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण अर्यालले जानकारी दिनुभयो । 

‘झण्डा राखिएको घर कोही पनि नजाने र गाउँपालिकाको समूह अनुगमनमा जाँदा पनि सहज होस् भनेर झण्डा राख्ने निर्णय गरेका हौँ’, उहाँले भन्नुभयो, ‘यसबाट अन्य तथ्याङ्क सङ्कलनमा पनि सहज हुनेछ ।’

गाउँपालिकाले १८० घरमा रातो झण्डा राख्दैछ । गाउँपालिकामा कुल ८३ स्वास्थ्य स्वयंमसेविका रहेका छन् । अबको एक हप्ता उनीहरुलाई खाजाको व्यवस्था गरेर परिचालिन गरिनेछ । 

अब स्वास्थ्य स्वयंमसेविका वडा र सम्बन्धित वडाका स्वास्थ्य संस्थामा जानकारी गराउने तथा वडा र स्वास्थ्य संस्थाले गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराउने निर्णय गरिएको स्वास्थ्य संयोजक अर्यालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया