लकडाउन अवज्ञा गर्ने झन्डै दुई हजार जना प्रहरीको कारबाहीमा

गाडीहरु ट्राफिक प्रहरीको नियन्त्रणमा

 चैत १७, २०७६ सोमबार १६:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - लकडाउनको अवज्ञा गर्ने १ हजार ८ सय ७६ जनालाई आज काठमाण्डौ उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज बिहानैदेखि दिउँसो दुई बजेसम्म काठमाण्डौ बाट १ हजार ६ सय ३८ जना पक्राउ परेका र तीमध्ये १ हजार ५ सय ३५ जनालाई छोडिएको छ । भक्तपुरबाट ८४ जना नियन्त्रणमा लिएको र ६६ जनालाई छोडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

यस्तै ललितपुरबाट नियन्त्रणमा आएका १ सय ५४ जनालाई पनि केही समय अगाडी छोडिएको छ । 

यसैगरी सरकारले लागू गरेको लकडाउन अवज्ञा गर्ने २ सय १ ओटा सवारी साधनलाई पनि आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । १ सय ८८ ओटा दुई पाङ्ग्रे र १३ ओटा चार पाङ्ग्रेलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नियन्त्रणमा लिएका सवारी साधन राती समय मिलाएर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । सवारी साधन नियन्त्रणमा लिएपछि त्यसमा रहेका व्यक्तिलाई भने ट्राफिक प्रहरीले जनपद प्रहरीको जिम्मा लगाउँदै आएको छ ।

लकडाउनको सातौं दिन देशभर आज पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् । अन्य सवारी साधन चलाउन भने निषेध गरिएको छ ।

सरकारले गएको ११ गतेबाट देशभर लक डाउन गरेसँगै  अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । एक साताका लागि गरेको लकडाउन  आउने चैत २५ गते राती १२ बजेसम्मका लागि लम्बिएको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया