लमजुङमा ९ सय शय्याको क्वरेण्टीन : क्वरेण्टीनमा बस्ने जम्मा ४७ जना

 चैत १७, २०७६ सोमबार १९:५९:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - लमजुङका ८ वटै पालिकामा गरी ९ सय शय्याको क्वरेण्टीनबनाइएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ को सम्भावित जोेखिमलाई ख्याल गर्दै विदेशबाट आएका र संक्रमण आशंका गरिएकालाई सुरक्षित रुपमा राख्नका लागि जिल्लाका चार नगरपालिका र चार गाउँपालिका गरी ८ वटै पालिकाले क्वरेण्टीनबनाएका हुन् ।

लमजुङमा हालसम्म ९ सय ४  शय्याको क्वरेण्टीनबनाइएको जिल्ला प्रशासन कार्यालय,लमजुङका सहायक प्रजिअ अनिलकुमार शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चैत १ गतेपछि जिल्लामा भारत, कतार, दुवइ लगायतका विभिन्न देशबाट २ सय ८० जना भित्रिएका छन् । जिल्लामा क्वरेण्टीनसंख्या धेरै भएतापनि  क्वारेन्टाइनमा बस्नेको संख्या भने कम छ । जिल्लामा हालसम्ममा ४७ जना क्वारेन्टाइनमा बसेको र ३ जनाको स्वाब परीक्षणका लागि पठाइएको शाहीले जानकारी दिनुभयो ।

लमजुङका विभिन्न स्थानीय तहले कोभिड १९ को सम्भावित जोखिम, रोकथाम र नियन्त्रणका लागि विभिन्न कदमहरु चालेका छन् ।

बेसीशहर नगरपालिका

लमजुङको बेसीशहर नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ज्याला–मजदूरी गर्दै आएका घरपरिवारको पहचिान गरी राहतस्वरुप खाद्यान्न वितरण गरिरहेको छ ।

नगरपालिकाले हालसम्म २ सय परिवारलाई प्रति परिवार ३० केजी चामल, दाल, चना, नून एक एक केजी र एक लिटर तेल वितरण गरिसकेको नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो । उहाँका अनुुसार नगरपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ख्याल गर्दै १ करोेडकोे अक्षयकोष स्थापना गरेको छ ।

सुन्दरबजार नगरपालिका

लमजुङको सुन्दरबजार नगरपालिकाले उद्धाररमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र एम्बुलेन्स चालकको कोरोनाबाट सङ्क्रमित भइ मृत्युु भएमा निजका परिवारलाई १० लाख दिने जनाएको छ  ।

नमुना सामुदायिक अस्पतालमा फिभर क्लिनिक बनाएको छ । ६ बेडको आईसोलेसन कक्ष निर्माण र ‘हेल्लो डाक्टर कार्यक्रम’ पनि संचालन गरिएको नगरपालिकाले जनाएको छ ।

सुन्दरबजार नगरपालिकाले आइसोलेसन सहितको एम्बुलेन्स सेवा सुरु गर्ने भएको छ । नगरपालिकाभित्र रहेका विभिन्न ४ वटा एम्बुलेन्समा आइसालेसन बनाइएको छ ।

राइनास नगरपालिका

लमजुङको राइनास नगरपालिकाले २५ लाखको ‘कोरोना राहतकोष’ स्थापना गरेको छ । राइनास नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको उद्धाररमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयम्सेवकहरुको कोरोनाबाट संक्रमित भै मृत्युु भएमा निजका परिवारलाई राहत स्वरुप ११ लाख दिने नगरपालिकाले निर्णय गरेको छ ।

यसैगरी, नगरपालिकाले नगर क्षेत्रमा दैनिक ज्याला, मजदूरी गर्दै आएकाहरु समस्यामा परे खाद्यान्न उपलव्ध गराउने जनाएको छ ।

दोर्दी गाउँपालिका

लमजुङको दोर्दी गाउँपालिकाले ‘लक डाउन’ अवधिभर अपरिचित व्यक्तिहरुलाई गाउँपालिका क्षेत्रभित्र प्रवेश निषेध, गाउँपालिकाका बासिन्दालाई अन्यत्र जान रोक लगाएको छ ।

जुनसुकै रोगका बिरामीको उपचारका लागि लक  डाउन अवधिभर नि ः शुल्क एम्बुलेन्स सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

दोर्दी गाउँपालिका क्षेत्रमा रहेका विभिन्न हाइड्रोपावरमा कार्यरत कामदारहरुको तथ्यांक संकलन गर्नुका साथै कामदारहरुलाई यथास्थानमा सुरक्षित रुपमा बस्न आग्रह गरिएको छ ।

ज्याला÷मजदूरी गर्दै आएकालाई समस्या परेमा आवश्यकता अनुसार खाद्यान्न उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया