अपाङ्गता भएका व्यक्तिलाई सङ्क्रमण भएमा...

 चैत १७, २०७६ सोमबार २०:१९:१२ | रासस
unn.prixa.net

काठमाण्डौ - के कोरोना भाइरसविरुद्ध निर्मित क्वारेन्टीन र आइसोलेशन कक्ष अपाङ्गतामैत्री छन् ? सरकारले अनौपचारिक क्षेत्रका मजदूरलाई राहत वितरण गर्दा अपाङ्गता भएका व्यक्ति समेटिएलान् ? 

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ जारी गरेपछि राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाललगायत यस क्षेत्रका अगुवाबाट अहिले यी प्रश्न उठ्न थालेको छ । रोगसँग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई सङ्क्रमणको बढी जोखिम हुने यो भाइरसबाट बच्न उनीहरुले सचेतना र उचित प्रबन्धका लागि आग्रह गरेका छन् ।

अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने ह्वीलचेयर, वैशाखी, सेतो छडीजस्ता सामानबाट पनि भाइरस सर्नसक्ने भएकाले उनीहरुलाई त्यस प्रकारको सचेतना आवश्यक देखिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई ध्यान दिएर जनचेतनामूलक सन्देश र पूर्वाधार तयार नभएको भन्दै उनीहरुले आफूहरुलाई अरुलाई भन्दा बढी प्राथमिकता दिएर खाद्यान्न, औषधि र उपचार सेवा उपलब्ध गराउन माग गरेका छन् । 

सहयोगीका आधारमा मात्रै दैनिक नियमित जीवनयापन गर्नसक्ने अपाङ्गता भएका व्यक्तिलाई कोरोना भाइरसको सङ्क्रमण भएमा उनीहरु कसरी परीक्षण केन्द्रमा जाने भन्ने सवाल उठेको छ । 

विसं २०६८ को राष्ट्रिय जनगणनामा मुलुकमा पाँच लाख १३ हजार अपाङ्गता भएका व्यक्ति छन् भने विश्व स्वास्थ्य सङ्गठनले गरेको सर्वेक्षणमा करिब ३० लाख अपाङ्गता भएका व्यक्ति नेपालमा छन् । अपाङ्गतामा बहिरा, सुस्त श्रवण, दृष्टिविहीन, स्पाइनल इन्जुरी, अटिजम, डाउन सिन्ड्रोम, बौद्धिक अपाङ्गता आदि पर्दछन् । 

राष्ट्रिय अपाङ्ग महासङ्घले यीनै विषयलाई उल्लेख गरी यही चैत १४ गते महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई ध्यानाकर्षण पत्र दिएकामा त्यसलाई सकारात्मकरुपमा लिइएपनि सम्बोधन नभएको महासङ्घका अध्यक्ष मित्रलाल शर्माले बताउनुभयो ।

उहाँका अनुसार लकडाउनका कारण स्पाइडन इन्जुरीलाई डाइपरको अभाव भएको छ भने होमोफोलियाका बिरामीलाई औषधिको अभाव भएको छ । महासङ्घका पूर्वअध्यक्ष तथा अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालका कार्यकारी निर्देशक डा वीरेन्द्रराज पोखरेलले  साङ्केतिक भाषामा चल्ने बहिरा र सेतो छडी प्रयोग गर्ने दृष्टिविहीनलाई थप निगरानी गर्न जरुरी रहेको बताउनुभयो ।

 नेपाल अपाङ्ग मानव अधिकार केन्द्रका कार्यकारी निर्देशक जगदीशप्रसाद अधिकारीले कतिपय अपाङ्गता भएका व्यक्तिले सञ्चारमाध्यमका सूचना सुन्न र हेर्न नसकिने, फोन गर्न नसक्ने भएकाले उनीहरुलाई दोभासे र साङ्केतिक भाषामा सूचना सन्देश दिनुपर्ने बताउनुभयो ।

उहाँले अहिले स्वास्थ्यसम्बन्धी सेवा दिने निकायमा बहिरा व्यक्ति भएमा साङ्केतिक भाषा र दोभासेको व्यवस्था गराई पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकतानुसार व्यक्तिगत सहयोगीको व्यवस्था हुनुपर्ने जनाउनुभयो ।

 महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रणका अवधिमा समन्वय गर्न सम्पर्क व्यक्ति तोकी समन्वय गरिरहेको छ । सम्पर्क व्यक्तिको निर्देशक तोकिएका मन्त्रालयका उपसचिव भरतराज शर्माले तत्काल गर्नुपर्ने कामका लागि कार्यायोजना बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस गरी कार्यान्वयन शुरु गरिएको बताउनुभयो ।

उहाँले अन्य सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरी अभाव भएका सामग्री अपाङ्गता पुनःस्थापना केन्द्रमा पुर्याउने काम भइरहेको र विशेष अवस्थाका व्यक्ति भएकाले सेवा प्रवाहमा प्राथमिकता दिन ती निकायमा मन्त्रालयको तर्फबाट आग्रह गरिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ९, २०७७

तपाईको प्रतिक्रिया