'लकडाउन' उल्लंघन गरे कर्फ्यु लगाउने मुख्यमन्त्री राईको चेतावनी

 चैत १७, २०७६ सोमबार २१:१६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

 मोरङ - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नागरिकले ‘लकडाउन’को उल्लंघन गरे कर्फ्यु लगाउने चेतावनी दिनुभएको छ । 

मुख्यमन्त्री राईले ‘लकडाउन’ जनताको स्वाथ्य  र सुरक्षाको लागि लगाइएको भन्ने कुरा बुझ्न जरुरी रहेकोले ‘लकडाउन’को पालना गर्न आग्रह गर्नुभयो ।अहिलेको असहज परिस्थितिमा सञ्चारकर्मीहरुको भुमिका महत्वपूर्ण हुने भएकोले कोरोना विरुद्धको अभियानलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

सूचना प्रवाह प्रक्रिया प्रभावकारी हुन नसकेको विषयमा मनन गर्दै प्रदेश सरकारले प्रभावकारी सूचना प्रवाहका लागि नेपाल पत्रकार महासंघसँग समन्वय सूचना डेस्क संचालनमा ल्याइने बताउनुभयो ।

हालसम्म प्रदेशमा कोरोना भाइरसको संक्रमण नभेटिएको र अब पनि फैलिन नदिन प्रदेश सरकारले अत्यन्तै सजगताका साथ काम गरिरहेको मुख्यमन्त्री राईले बताउनुभयो  । 

प्रदेशमा प्रमुख सचिवको नेतृत्वमा र जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समितिहरु बनाई कोरोना भाइरसका विरुद्धमा आवश्यक कामहरु युद्धस्तरमा भैरहेको मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।

प्रदेश सरकारले वर्तमान संकटसँग लड्न १० करोड रुपैयाँ निकासा गरिएकोले बिभिन्न क्वारेन्टाइनमा बसेकाहरलाई खाना खुवाउन १ करोड ६० लाख रुपैयाँ निकासा गरिएको राईले बताउनुभयो ।

‘कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन प्रदेश सरकारले काम गरिरहेको छ’, मुख्यमन्त्री राईले भन्नुभयो, ‘यदि कसैले कालोबजारी गर्छ भने त्यस्तो व्यक्ति अपराधी हुन् ।’

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया