‘लकडाउन’ खुकुलो बनाउँदै सरकार

 चैत २०, २०७६ बिहिबार २१:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले 'लकडाउन' खुकुलो बनाएको छ । 

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ । 

यस्तै उद्योग भित्र नै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पूरा गरि सञ्चालन गर्न दिने निर्णय गरेसँगै सरकारले लकडाउन खुकुलो बनाएका हो । 

अर्थमन्त्री तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिनुभयो । 

उहाँले अब तामाकोशी, मेलम्चीलगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाइ काम गर्न सकिने बताउनुभयो । हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ । 

बैठकले अत्यावश्यक औषधि, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ । 

बैठकले नेपाल भारत सीमामा रहेको क्वरेन्टीनमा बसेकालाई अप्ठ्यारो पर्न नदिनेगरी दुवैतर्फबाट आपसमा सहयोग गरी सबैलाई १४ दिन अनिवार्य क्वरेन्टीनमा राखेर मात्रै सीमा पार गर्न दिने गरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेकावडाले खरिद प्रक्रियाबारे छलफल तथा अनुसन्धान हुने बताउनुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया