खाडीका देश र मलेसियामा २२ जना नेपालीसहित ९ हजारभन्दा बढी सङ्क्रमित, नेपालीकाे अवस्था सामान्य

 चैत २२, २०७६ शनिबार ८:५०:१४ | उज्यालो सहकर्मी

काठमाण्डाै – खाडीका देश र मलेसियामा काेराेनाकाे सङक्रमण बढेसँगै नेपाली श्रमिकहरुमा पनि यसकाे सङ्क्रमण देखिन थालेको छ । अहिलेसम्म  खाडीका ६ देश र मलेसियामा २२ जना नेपालीसहित ९ हजार दुईय ९५ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे छ । बहराइनमा १२, यूएईमा ८, कुवेतमा १ र मलेसियामा १ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडीका देशमा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै साउदीमा छ, तर त्यहाँ रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म नेपाली श्रमिक सुरक्षित छन् ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

विश्वका दुई सय पाँच देशका ११ लाख ३४ हजार ४२१ जनामा सङ्क्रमण फैलिसकेको छ । ६० हजार ४२८  जनाको ज्यान गएको छ भने दुई लाख २६ हजार ८६ जना निको भएका छन् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

सङ्क्रमित सङ्ख्या : एकहजार ७५

निको भएर घर फिरेकाहरु : ९३

अस्पतालमा उपचाररत : ९ सय ७९

मृतकको सँख्या : ३

दूतावासकाे सल्लाह:

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् । 

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् । प्रतिबन्ध लगाएको ठाउँमा जम्मा भएको भन्दै बुधबार मात्रै १० जनालाई पक्राउ गरिएको कतारको अन्तरिक मन्त्रालयले जनाएको छ ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ । 

नेपाली दूतावासले गर्ने काम र सम्पर्क नम्बर :

कतारमा रहेको नेपाली दूतावासले शव नेपाल पठाउने, यात्रा अनुमति र पासपोर्ट जस्ता अत्यावाश्यक कामबाहेक अरु सेवाहरु रोकेको छ । दूतावासमा पासपोर्ट र

यात्रा अनुमति पत्रका लागि द्वितीय सचिव ऋचा भट्टराईलाई ६६३१६९८५ नम्बरमा सम्पर्क गर्न सकिन्छ । मृतकसम्बन्धी सेवाका लागि द्वितीय सचिव भुवनप्रसाद भट्टलाई ६६७४२०६४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

नेपाली समुदायको सरोकारको विषयका लागि द्वितीय सचिव प्रवीण भट्टराईलाई ६६९५०७२४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । यस्तै दूतावासमा ४४६७५६८१ र ४४१७१९६२ मा पनि सम्पर्क गर्न सकिन्छ । 

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । त्यसैले पर्यटकीय स्थलहरु, बिद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने सार्वजनिक स्थानहरुमा भेला नहुनुहोस् । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : १२ सय ६४

निको भएर घर फिरेकाहरु : १०८

अस्पतालमा उपचाररत : ११ सय ४७

मृतकको सँख्या : ९

दूतावासकाे सल्लाह:

यूएईको Ministry of Health and Prevention (मिनिस्ट्री अफ् हेल्थ एण्ड प्रिभेन्सन) ८००११११ र दुबई हेल्थ अथोरिटीमा ८००३४२ मा सम्पर्क गरेर आफ्नो अवस्थाको जानकारी दिएर आवश्यक सहयोग लिनुहोस् । 

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोवाईल तथा मोबाइल एपहरु प्रयाेग गर्नुहोस् । 

आबुधाबीमा रहेको नेपाली दूतावासको ०२६३४४७६७ र ६३४४३८५ नम्बरमा सम्पर्क गरेर आवश्यक सहयोग लिन सकिन्छ । 

यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई निःशुल्क तीन महिना थपिदिने भएको छ । यूएई घुम्न गएका तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन नपाउनेले भिसा थप गर्न पाउने भएका छन् । भिजिट या टुरिस्ट भिसामा यूएई गएकाले त्यहाँको कानुन अनुसार कुनै पनि टुर एण्ड ट्राभल एजेन्सीमार्फत भिसा थप गर्न सक्ने गल्फ न्युजले खबर लेखेको छ ।

साउदीमा कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि नै कर्फ्यु लाग्छ ।

स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनै पनि बहानामा बाहिर ननिस्कनुहाेस् । साउदीको रियाद क्षेत्रमा पनि दिउँसोको तीन बजेदेखि नै कर्फ्यु लाग्ने भएकाले साउदीमा हुने सबै नेपालीलाई सरकारले लागू गरेका नियम पूर्ण रुपमा पालना गर्नुहाेस् ।

सङ्क्रमित सङ्ख्या : दुई हजार ३९

निको भएर घर फिरेकाहरु : ३५१

अस्पतालमा उपचाररत : १६ सय ६३

मृतकको सँख्या : २५

अहिलेसम्म नेपाली श्रमिकमा सङ्क्रमण देखिएकाे छैन् ।

दूतावासकाे सल्लाह:

सरकारले कोरोना भाइरस परीक्षणको लागि (Saudi Center for Disease Prevention and Control) साउदी  सेन्टर फर डिजिज प्रिभेन्सन एण्ड कन्ट्रोललाई आधिकारिक प्रयोगशाला तोकेको छ । त्यसैले रुघाखोकी लागेमा, ज्वरो आएमा तथा श्वासप्रश्वासमा समस्या देखिएमा साउदी सरकारले तोकेका परीक्षणस्थल र प्रयोगशालामा मात्र जाँच गराउनुहोस् ।  

सङ्क्रमणको शङ्का लागेमा तुरुन्तै सरकारले उपलब्ध गराएको हेल्थ सर्भिस सेन्टरको सम्पर्क नम्बर ९३७ मा फोन गरी सल्लाह र परामर्श लिनुहोस् । 

साउदी सरकारले सोमबारदेखि २१ दिन रात्रीकालिन करफ्यु लगाएको छ । त्यसैले सुरक्षित रहनुहोस् । कर्फ्युको पालना गर्नुहोस् । नत्र कारबाही पनि हुन्छ । 

कसैलाई रुघाखोकी लागेको, ज्वरो आएको तथा श्वासप्रश्वासमा समस्या देखिएको भए ती व्यक्तिसँग भेट हुँदा वा बोल्दा कम्तीमा पनि एक मिटर टाढै रहनुहोस् ।

 अत्यावश्यक सहयोग र सल्लाहका लागि साउदीमा रहेको नेपाली दूतावासको  ०११४६१११०८ नम्बरमा सम्पर्क गर्नुहोस् । बिदाको दिन अथवा कार्यालय समयभन्दा अघि र पछि बेलुका ८ सम्म दूतावासको हटलाइनमा ०५५९३८९६०० नम्बरमा (whatsapp समेत यसै फोनमा उपलव्ध छ) सम्पर्क गर्नुहुन अनुरोध छ । 

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

सङ्क्रमित सङ्ख्या : ६८८ (१२ जना नेपालीसहित) 
निको भएर घर फिरेकाहरु : ३९९
अस्पतालमा उपचाररत : २८५
मृतकको सङ्ख्या : ४

दूतावासकाे सल्लाह: 

अरु देशमा झैँ बहराइन सरकारले पनि सबैलाई भिडभाडमा नजान र सुरक्षाका उपाय अपनाउन सल्लाह दिएको छ ।

ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा बहराइनको टोल फ्री ४४४ नम्बरमा सम्पर्क गर्न सकिन्छ । 

सङ्क्रमितले क्वारेन्टाइनमा बस्न नमानेमा एक हजारदेखि १० हजार बहराइन दिनार जरिबाना हुनेछ । 

कुनै समस्या परेमा बहराइनमा रहेको नेपाली दूतावासमा ९७३१७७२५५८३ मा सम्पर्क गर्न सकिन्छ ।

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।

कुवेत सरकारले कोरोना सङक्रमण रोकथामका लागि रातीको समयमा अनिश्चितकालिन कर्फ्यु लगाएको छ । कर्फ्यु नमानेमा जेल सजाय र १० हजार कुवेती दिनार जरिवाना हुन्छ । त्यसैले सुरक्षित रहन र कर्फ्युको पालना गर्न दूतावासले अनुरोध गरेको छ । 

सङ्क्रमित सङ्ख्या : ४६९ (एक जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ९३

अस्पतालमा उपचाररत : ३८५

मृतकको सङ्ख्या : १

दूतावासकाे सल्लाह:

सार्वजनिक क्षेत्रमा भेला भएर नबस्नुहोस् । घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्नुहोस् । कुवेत सरकारले निर्देश गरेको सुरक्षा सतर्कता अपनाउनुहोस् । 

स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा २४९७०९६७ नम्बरमा फोन गर्नुहोस् र आफ्नो अवस्थाबारे जानकारी गराउनुहोस् । कुवेत सरकारले जारी गर्ने स्वास्थ्य सम्बन्धी निर्देशनहरु पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : २७७

निको भएर घर फिरेकाहरु : ६१

अस्पतालमा उपचाररत : २१५

मृतकको सँख्या : १

ओमानमा कार्यरत नेपालीलाई अहिलेसम्म कोरोना सङ्क्रमण देखिएकाे छैन ।

दूतावासकाे सल्लाह:

१ अप्रिलदेखि अर्को सूचना जारी नहुँदासम्म ओमानको हम्रिया, दारसाइट, रूवी, बादि कविर लगायत क्षेत्रमा हुनेले अत्यावश्यक सामान किन्न बाहेक बाहिर ननिस्कनुहाेस् ।

यी क्षेत्रमा अत्यावश्यक सामान किन्न निस्कंदा पनि पदैल नहिँड्न स्थानीय प्रहरीले सूचना जारी गरेको छ ।

काेराेनाकाे लक्षण देखापरमा सिधै कोभिड १९ को परीक्षण नभई चिकित्सकको सिफारिसपछि मात्र राष्ट्रिय प्रयोगशालामा यसको निःशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ । कोरोनाबारे थप बुझ्न परेमा हटलाइन १२१२ वा २४४४१९९९ मा सम्पर्क गर्न सकिन्छ ।

सार्वजनिक ठाउँमा भिडभाड नगर्नुहोस् र सुरक्षित भएर बस्नुहोस् ।  ओमान सरकारले निर्देश गरेको वा कम्पनीको निर्देशन पालना गर्नुहोस् । 

कुनै समस्या परेमा कोरोना विशेष हटलाइन नम्बर ७१५३०८४० मा अथवा ९६८२४६९६१७७ मा सम्पर्क गरेर सहयोग लिन दूतावासले अनुरोध गरेको छ ।

कोरोनाको सङ्क्रमण फैलन नदिन अप्रिल १४ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित सङ्ख्या :  ३४ सय ८३ (एक जना नेपालीसहित)
निको भएर घर फिरेकाहरु : ३१५
अस्पतालमा उपचाररत : २५ सय ११
मृतकको सङ्ख्या : ५७

दूतावासकाे सल्लाह:

कोरोनाको सङ्क्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजानुहोस् ।

कोरोना रोकथामका लागि मलेसियाले जारी गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि अनुरोध गरेको छ । लकडाउनको अवज्ञा गर्ने नेपालीसहित मलेसियाका नागरिकसमेत पक्राउ परेको भन्दै कोरोनाको जोखिमबाट बच्न सरकारले जारी गरेका सुरक्षा सतर्कता अपनाउन दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

कोरोनाको कारण कम्पनीमा या बासस्थानमा कुनै समस्या भएमा पनि दूतावासमा सम्पर्क गर्न र यो समयमा झैझगडा नगरी संयमित भएर काम गर्न, नभए होम व्वारेण्टीनमा बस्न पनि दूतावासले भनेको छ ।

सुरक्षा सतर्कताका लागि सरकारको निर्देशन र सल्लाहबारे बेला बेलामा जानकारी लिनुहुोस् । कुनै समस्या परेमा मलेसियामा रहेको नेपाली दूतावासमा ६०३२०२०१८९९ र ६०२०२०१८९८ मा सम्पर्क गर्न सकिन्छ । 

मलेसियामा नेपालीका लागि काम गर्ने धेरै सङ्घसंस्था छन् । समस्या पर्दा यस्ता सङ्घसंस्थाको पनि सहयोग लिन सकिन्छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया