'लकडाउन' काे माैका छाेपी तस्करी गर्न बर्दिया निकुञ्ज प्रवेश गर्ने २८ जना पक्राउ

 चैत २२, २०७६ शनिबार १६:१:२६ | भावुक योगी
unn.prixa.net

बर्दिया – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट बच्न देश अहिले लकडाउन छ । लकडाउनको पालना गर्दै मानिसहरु घरमै बसेका छन् । तर लकडाउनको मौका छोपेर तस्करहरु निकुञ्जभित्र सलबलाउन थालेका छन् ।

बर्दिया निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता बढाएको छ । वन्यजन्तुको तस्करीलाई रोक्न निकुञ्ज प्रशासनले अहिले नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरी निकुञ्जभित्र स्वीप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाएको छ ।

लकडाउन सुरु भए यता वन्यजन्तु र काठ तस्करीका लागि निकुञ्ज प्रवेश गरेका २८ जनालाई पक्राउ गरिएको निकुञ्ज प्रशासनले जनाएको छ । पक्राउ परेका सबै निकुञ्जको थुनुवा कक्षमा छन् । वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करी गर्न लागेका १८ जनालाई पक्राउ गरिएको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रकाउ परेका सबैको स्वास्थ्य जाँच गरी थुनामा राखिएको बरालले बताउनुभयो ।

लकडाउनका बेला बाहिर रहेका मानिस पनि घर आएको र बाहिर सुनसान भएकाले तस्करहरु निकुञ्जभित्र सक्रिय भएको निकुञ्जको भनाइ छ । वन्यजन्तुको चोरी सिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती देखिएको बताउँदै प्रमुख संरक्षण अधिकृत बरालले भन्नुभयो, ‘फरार सूचीमा रहेका व्यक्तिहरु अहिले गाउँ आएको सूचना पाएका छौँ, उनीहरुबाटै बढी खतरा छ, उनीहरुको निगरानी पनि बढाएका छौँ ।’

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयन्त्रलाई प्रभावकारी बनाएको बताएको छ । आजभोलि दिनहुँजसो निकुञ्ज सुरक्षार्थ शिव दल गणका नेपाली सेना र निकुञ्जका कर्मचारीले पैदल र गाडी दुवैबाट स्वीप अपरेशन गर्ने गरेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले बताउनुभयो । निकुञ्जभित्र अति संवेदनशील क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्रभित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ ।

निकुञ्जभित्र सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोस्ट छन् । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोस्टबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्वीप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकांश कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । यो बेला निकुञ्जमा पर्यटक छैनन् । जङ्गल सफारी पनि बन्द छ ।

निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सक्रिय देखिएका हुन् । ‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशील भएर लागेको छौँ, वन्यजन्तु जोगाउने सुरक्षा चुनौती छ नै, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ’, थापाले भन्नुभयो ।

निकुञ्ज आसपासका युवाहरु पनि गस्तीमा

निकुञ्ज प्रशासन र सेनासँगै स्थानीय युवाहरु पनि चोरी सिकार नियन्त्रणमा लागेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकार नियन्त्रण युवा परिचालन अभियान समिति छ । बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रका दुई हजार तीन सय युवाहरु अभियानमा छन् । यी युवाहरु पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रको सुरक्षामा खटिने गरेको समितिका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

'निकुञ्जभित्रका वन र वन्जन्तु जोगाउन निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरु स्वतस्फूर्त रुपमा लागेको १० वर्ष पूरा भयो, त्यो बेलादेखि संरक्षण अभियानमा छाैँ', अचार्यले बताउनुभयो । निकुञ्जसँग हामी सधैँ साथमा रहन्छौँ, नियमित गस्ती पनि गर्छौँ, यतिबेला लकडाउनको मौका छोपेर चोरी, सिकार र तस्करी बढ्ने चिन्ताले तस्करहरुको निगरानी गरिरहेका छौँ, सही सूचना निकुञ्जसम्म पुर्‍याउँछाैँ', सञ्जालका अध्यक्ष आचार्यले भन्नुभयो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा समुदायस्तरमा गठन गरिएको समितिबाट चोरी सिकार नियन्त्रणमा निकै सहयोग पुगेको निकुञ्जका कर्मचारीहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया