बाल सुधार गृहबाट छुट्न थाले बालबालिका

 चैत २२, २०७६ शनिबार १८:४४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - सर्वाेच्च अदालतको आदेशसँगै देशभरका बाल सुधार गृहमा रहेका बालबालिकाहरु छुट्न थालेका छन् । कोभिड-१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दी गृहमा सजाय भोगिरहेका बालबन्दीहरु छोड्न थालिएको हो । 

भक्तपुरको सानोठिमिमा नेपाल सरकार र गैरसरकारी संस्था यूपेसको सञ्चालनमा रहेका चार वटा बाल सुधार गृहबाट एक हप्ताकाे बीचमा एक सय २५ जना बालबालिका छुटेका छन् । 

कुल एक सय १० जनाको क्षमता रहेको बाल सुधार गृहमा दुई सय ६४ जना बालबालिका राखिएको थियो । अदालतको आदेशपछि ५४ जना बालबालिका छुटेको बाल सुधार गृहका उपनिर्देशक केशव सुवालले जानकारी दिनुभयो । 

यूसेपअन्तर्गत कास्की, नेपालगञ्ज र विराटनगरमा रहेका बाल सुधार गृहबाट पनि बालबालिका छाडिएको छ । जसमा कास्कीबाट १५ जना, विराटनगरबाट २१ जना र बाँकेबाट ३५ जना छुटेका हुन् । 

छुटेका बालबालिकालाई आवश्यक परेको र खोजेको बेलामा हाजिर गराउने गरी छोड्ने आदेश अनुसार परिवारको जिम्मा लगाएर पठाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार रूपन्देहीबाट १८, डोटीबाट १७, पर्साबाट १२ र मकवानपुरबाट पाँच जना बालबालिकालाई पनि अभिभावकको जिम्मा लगाएर छाडिएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया