कोरोनाले देश ठप्प : इँटा भट्टामा भने महिला कामदार व्यस्त

 चैत २३, २०७६ आइतबार २१:४:४ | रमेश गिरी
unn.prixa.net

भक्तपुर – कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी फैलिएर नेपाललाई समेत प्रभाव पारेपछि सरकारले देशलाई लकडाउन गरेको आज १३ दिन भइसक्यो । पुरै देश अहिले लकडाउनमा भए पनि भक्तपुरका इँटाभट्टाका महिला मजदूरहरु भने काममा व्यस्त छन् ।

भक्तपुरका इँटाभट्टा सञ्चालकले काँचो इँटा बनाउन बन्द गरे पनि बनाएका इँटाहरु भट्टाको डगमा लैजाने र पाकेका इँटाहरु डगबाट गोदाममा ल्याउने काम भने नरोकिदा लकडाउनका बेलामा पनि जोखिम मोलेर महिला मजदूरहरु दैनिक काम गरिरहेका छन् । 

बिहान ५ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझसम्म इँटा बोक्ने काममा व्यस्त देखिन्छन् भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने महिला मजदूरहरु । इँटाभट्टाका सञ्चालकले प्रशासन र स्थानीय तहको दबाब पछि नयाँ इँटा बनाउन बन्द गरेर १८ हजार मजदूरलाई गाउँ पठाए पनि इँटा बोक्ने काममा रहेको महिला मजदूरहरु भने भट्टा मै रोकिएका छन् ।

महिलासँगै आएका एकै परिवारका पुरुषहरु पनि भट्टामै छन् । कसैसँग पनि न मास्क छ, न त स्यानेटाइजर नै । छ त केवल काँधमा इँटाको भारी ।

चाँगु दुवाकोट २ सेती भैरब इँटाभट्टामा काम गर्ने दाङ घोराहीकी सानीकान्छी घर्ती साहुले इँटा बोक्ने काम नसकी घर नपठाउने भनेर राखेको बताउनुहुन्छ । 

‘खै देशभरी रोग आइचरे, अस्ति गाउँका घर पठायो साहुले हामीलाई इँटा बोक्न नसकी जान पाउंदैनौ भने’ उहाँले भन्नुभयो, ‘साहुले हिसाब पनि गरिदिएनन्, अनि हामी यतै बसेउँ ।’

भक्तपुरका ६२ वटा इँटाभट्टामा अझै पनि कम्तीमा १० हजार कामदार रहेका छन् । एउटा इँटा भट्टामा दुईसय कामदार अझै छन् । इँटा बोक्ने, गोदाम मिलाउने र इँटा पकाउने भारतका कामदारहरु पनि काम गरिरहेका छन् । 

भकुण्डेबेशीकी सानी नेपाली दैनिक २ हजारदेखि २५ सय इँटा बाक्ने गरेको बताउनुहुन्छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरे पनि इँटाभट्टामा भने काम भइरहेको उहाँ बताउनुहुन्छ । 

‘घर जान पनि पाएनौँ, झ्याउलीमा खानेकुरा पनि सकियो, खै साहुले नखुवाए भोकै हुन्छौँ, इँटा सबै थन्क्याएपछि मात्रै पठाउने भनेका छन्’, उहाँ दुखेसो पोख्नुहुन्छ, ‘हामी आत्तिसक्यौँ, आफ्नै घर जान पाए हुन्थ्यो ।’

दुईवर्षको छोरीलाई ६ वर्षकी अर्की छोरीलाई रेखदेख गर्न छाडेकी हनुमान इँटा उद्योगमा कार्यरत दाङ्ग घोराहीकी सिमा घर्ती इँटा बोकेर दैनिक ७ सय कमाई हुने बताउनुहुन्छ ।

एक हजार इँटा बोकेको ज्याला ३०० रुपैयाँ पाइने बताउँदै उहाँ साहुले हिसाब गरेर पैसा पनि नदिएको र गाउँ पनि नपठाएका कारण यहीँ रोकिनु परेको बताउनुहुन्छ । इँटा भट्टामा रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाबाट आएका मजदूर कार्यरत छन् । यस्तै इँटा पोल्नको लागि मजदूरहरु भारतबाट पनि आएका छन् । 

इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाइ ह्याम्बा १८ हजार मजदूरलाई घर फर्काइसकेको र अब इँटा बोक्ने काममा रहेका मजदूर मात्रै बाँकी रहेको बताउनुहुन्छ ।

काँचो इँटा नबोकी छोड्दा करोडौँको इँटा बिग्रने भएकाले इँटा बोक्न बाध्य भएकाले केही मजदूर बाँकी रहेको बताउदै जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गरिदिए केही दिनभित्रै घर पठाइदिने उहाँ बताउनुहुन्छ ।

कोरोनाको जोखिम कम गर्न भट्टामा काम गर्ने मजदूरलाई बाहिर जान नदिएको र बाहिरबाट भट्टामा नयाँ मान्छेलाई आउन नदिएको उहाँको दावी छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

रमेश गिरी

भक्तपुरका पत्रकार रमेश गिरी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया