साउदी अरबमा चार नेपालीमा कोरोना सङ्क्रमण, थप सतर्क रहन राजदूतावासको अपिल

 चैत २४, २०७६ सोमबार ६:२३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस भाइरसको सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

साउदी अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबारसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय ८५ पुगेको छ । पछिल्लो ४८ घण्टामा तीन सय ४० भन्दा धेरैमा सङ्क्रमण देखिएको छ । राजधानी रियादमा मात्र आइतबार ६६ जनामा सङ्क्रमण देखिएको बताइएको छ । 
साउदी मन्त्रालयका अनुसार अहिलेसम्म सङ्क्रमितमध्ये चार सय ८८ जना निको भएका छन् । त्यस्तै आइतबार थप पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ ।

साउदी अरबमा कोरोना भाइरसको सङ्क्रमण हरेक दिन बढ्दो क्रममा रहेको र नेपाली नागरिकहरुमा पनि सङ्क्रमण देखिएकोले  महामारीबाट बच्न सावधानी अपनाउन नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

साउदीमा कतिपय नेपालीहरुले कोरोना भाइरसको सङ्क्रमण भइरहेको अवस्थामा पनि काम गरिरहनुपरेको भन्दै टेलिफोन एवं पोस्टमसर्फत गुनासो गरेका छन् । धेरै कम्पनीहरुले अत्यन्त न्यून जनशक्तिमा काम गराइहेका पाइएको छ भने कतिपय पूर्णरुपमा बन्द भएका छन् । अधिकांश कम्पनीहरुले सुरक्षाका अधिकतम उपायहरु अपनाएका जानकारीहरु पनि प्राप्त भएका छन् । 
आफू कार्यरत कम्पनीमा उपलब्ध सङ्क्रमणसम्बन्धी सुरक्षाका सबै उपायहरुलाई अनिवार्य रुपमा उपयोग गर्न र हेलचेक्र्याइँ नगर्न भनिएको छ ।

सावधानी र सचेतनाका सबै अनुभव र जानकारीहरु जतिसक्दो धेरैजनासम्म पुर्याएर एक अर्कालाई मद्दत गर्न आह्वान गरिएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया