देशभर अहिले ९ हजारभन्दा धेरै जना क्वरेन्टीनमा

 चैत २४, २०७६ सोमबार १९:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको त्रास बढेको कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वरेन्टीनमा रहेका सबै जनाको स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

क्वरेन्टीनमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्न टोली त्यसतर्फ गइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार अहिले कोरोनाको जोखिम बढेकाले क्वरेन्टीनमा रहेका सबैजनाको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

कोरोना भाइरसको आशंकामा १६ सय ९७ जनाको स्वास्थ्य परीक्षण भएको छ । यीमध्ये अहिलेसम्म नेपालमा ९ जनालाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । यस्तै अहिले कोरोनाको आशंकामा काठमाण्डौमा १२ र काठमाण्डौबाहिर ९५ जना गरी १ सय सात जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

यसैबीच, देशभर अहिले ९ हजार एक सय ६८ जनालाई क्वरेन्टीनमा राखिएको छ । यस्तै, विदेशबाट आएकाको नमूना परीक्षणका लागि सेना र सशस्त्र प्रहरीको सहयोग लिइने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

 उहाँले काठमाण्डौसहित १० ठाउँबाट कोरोनाको नमूना परीक्षण थालिएको पनि जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया