जाडो छल्न र व्यापार गर्न बेंसी झरेका २ सय मुस्ताङी पोखरामा रोकिए

 चैत २६, २०७६ बुधबार १३:३७:२० | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – जाडो छल्न र घुम्ती व्यापार गर्न बेंसी झरेका हिमालपारीको जिल्ला मुस्ताङका २ सय स्थानीय पोखरामा रोकिएका छन् । 

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलन नदिन देशमा जारी लकडाउनका कारण जाडो छल्न र व्यापार गर्न निस्किएका उनीहरु रोकिएका हुन् । 

लकडाउनका कारण झण्डै २ सयजना मुस्ताङीहरु पोखरामा रोकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले टेलिफोनमा बताउनुभयो । तीमध्ये कतिपय विदेशबाट फर्किएका र अन्य घुम्ती व्यापार तथा जाडो छल्न निस्किएका रहेका छन् । 

अहिले पोखरा रोकिएका मुस्ताङीहरु कोही आफ्नै घरमा, कतिपय आफन्तकोमा र अन्य  घुम्ती विद्यालयमा बसेको प्रजिअ अर्यालले जानकारी दिनुभयो । 

पोखरामा रोकिएकामध्ये उपल्लो मुस्ताङका धेरै छन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयहरु पोखरामा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 

खासगरी उपल्लो मुस्ताङका स्थानीयहरु छ महिना घरमै बस्छन् भने बाँकी छ महिना जाडो छल्न र व्यापार व्यवसायका लागि मध्य नेपालसहित भारतसम्म पुग्ने गरेका छन् । 

गएको कार्तिक महिनाको अन्तिम साता मुस्ताङका विभिन्न गाउँबाट जाडो छल्न र घुम्ती व्यापार गर्न झरेका मुस्ताङीहरु देशमा जारी लकडाउनका कारण घर फर्किन नपाउँदा पोखरामा बसिरहेका हुन् । 

हिउँदमा पोखरा, काठमाण्डौ, चितवन, नेपालगञ्जदेखि भारतसम्म पुगेर व्यापार गरी गर्मी सुरु भएपछि मुस्ताङीहरु आफ्नो गृहजिल्ला फर्कछन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया