सोलुखुम्बुमा ‘लकडाउन’ले गाउँ फर्किएकाहरु कृषि कर्ममा रमाउँदै

 चैत २८, २०७६ शुक्रबार १३:१३:२ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सरकारले ‘लकडाउन’ घोषणा गरेपछि सहरबाट गाउँ फर्किएकाहरु कृषि कर्ममा लागेका छन् । अध्ययन, रोजगार र अन्य अवसरका लागि गाउँ छोडेर गएकाहरु ‘लकडाउन’ भएसँगै गाउँ फर्किएर खेतीपातीमा रमाउन थालेका हुन् । 

रोजगारीको सिलसिलामा लामो समय काठमाण्डौ बस्नुभएका जिल्लाको  तिङलाकी मुना राई ‘लकडाउन’ भएसँगै गाउँ फर्किएर खेतीपातीमा व्यस्त हुनुभएको बताउनुहुन्छ । ‘लकडाउन’ले आफूलाई गाउँ फर्कने अवसर जुराएको बताउनुहुँदै राईले लामो समयपछि परिवारसँग खेतमा काम गर्दाको छुट्टै आनन्द मिलेको बताउनुभयो ।

विभिन्न सरकारी कार्यालयहरु बन्द भएपछि कर्मचारीहरु पनि गाउँ फर्किएका छन् । उनीहरु यतिखेर परिवारलाई खेतीपातीमा सघाउने काममा व्यस्त रहेकोे सल्यानका प्रकाश भट्टराईको भनाइ छ । ठूलो सङ्ख्यामा युवाहरु गाउँ फर्किएसँगै बाँझो खेतहरु समेत खनजोत हुनेमा गाउँघरका किसान आशावादी देखिएका छन् । 

कृषि ज्ञान केन्द्र सोलुखुम्बुबाट गाउँगाउँमा परेका कृषिका योजनाहरु पछिल्लो समय निकै तीव्र गतिमा अघि बढिरहेको केन्द्रका प्रमुख लक्षमण दासले बताउनुभयो । 
उहाँका अनुसार ‘लकडाउन’ले अन्य क्षेत्र ठप्प भएपनि गाउँका कृषि कर्म भने सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया