गुराँसले ढकमक्क सुकेपोखरी–लोहाकिल कोरोनाको कारण सुनसान (फोटो फिचर)

 बैशाख ३, २०७७ बुधबार १३:४५:२० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – कोरोना भाइरसको कारण ढकमक्क गुराँस फुलेको सुकेपोखरी–लोहाकिल क्षेत्र सुनसान बनेको छ । 

पाँचथरकाे फिदिम नगरपालिका १४, फाल्गुनन्द गाउँपालिका ३ र इलाम जिल्लाको सीमानामा पर्ने मनोरम्य सुकेपोखरी–लोहाकिलमा पर्यटक नआउँदा सुनसान बनेकोे हो । 

यस क्षेत्रमा अहिले मनै लोभ्याउने गरी गुराँस फुलेका छन् । तर कोरोना भाइरस (काेराेना भाइरस) को कारण पर्यटक आएका छैनन् । यहाँका होमस्टे पनि खाली छन् । नयाँ वर्षमा मेला लाग्ने यो ठाउँमा यसपालि मेला पनि लागेन ।

गुराँस फुल्ने यो मौसममा पर्यटकको चहलपहल बाक्लो हुने गरेकोमा कोरोना सङ्क्रमणको त्रासले पर्यटक नआएको स्थानीय होमस्टे सञ्चालक सुरेश राईले बताउनुभयो । 

‘सदरमुकाम फिदिमबाट लगभग ३० किलोमिटरको दुरीमा अवस्थित यो ठाउँमा गुराँस फुल्ने मौसममा चहलपहल बाक्लै हुन्थ्यो । तर यसपालि यहाँका घर र होटल सुनसान छन्,’ होमस्टे सञ्चालक राईले भन्नुभयो ।

गुराँस फुल्ने यो समयमा लकडाउनकाको कारण यस वर्ष बाहिरबाट एक जना पनि पर्यटक नआएको स्थानीय अजय राईको भनाइ छ । यसपालि गुराँस गज्जबै फुल्यो तर कोरोना महामारीको कारण घुम्न आउनेहरु नआउँदा सुनसान भएको स्थानीय अनिस तामाङले बताउनुभयो । 

यस क्षेत्रमा विशेषगरी मङ्सिरदेखि माघसम्म हिउँ खेल्न र फागुनदेखि वैशाखसम्म लालीगुराँस हेर्न पर्यटक आउने गर्दछन् । समुद्री सतहदेखि करिब ३ हजार फिट उचाइमा रहेको यस क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये १२ प्रजातिका गुराँस पाइन्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया