काठमाण्डाैबाट फर्किएकालाई राख्न क्वरेण्टीनको अभाव

 बैशाख १६, २०७७ मंगलबार ९:५३:२५ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – लकडाउनको समयमा काठमाण्डाैबाट घर आएका पाँचथरका विद्यार्थी र मजदुरहरुलाई राख्नको लागि क्वरेण्टीनको अभाव भएको छ । पाँचथरमा निर्माण गरिएका क्वरेण्टीनको क्षमताले नभ्याएपछि विद्यालयको एउटै कोठमा दर्जनौँलाई राखिएको छ ।

सुत्केरी महिलाहरु चिसो भुइँमा बस्न बाध्य छन् । पालिका र प्रशासनसँग समन्वय नगरि एकसाथ ठूलो सङ्ख्यामा मानिसहरु पाँचथर भित्रिएपछि व्यवस्थापनमा समस्या भएको हो । चार दिनको अवधिमा तीन सयभन्दा धेरै विद्यार्थी र मजदुरहरु पाँचथर भित्रिएका छन् । उनीहरुलाई घर जान दिइएको छैन । सबैलाई विद्यालयको भवनमा राखिएको छ ।

फाल्गुन्द गाँउपालिका ३ जलसिंह माध्यमिक विद्यालयमा सयभन्दा धेरैलाई राखिएको छ । हिलिहाङ गाँउपालिकाको सिद्धेश्वरी माविमा झण्डै ५० जना छन् । फालेलुङ गाँउपालिकामा पनि काठमाण्डाैबाट आएका ४५ जनालाई विद्यालयमै राखिएको हो । फिदिम नगरपालिकामा पनि जिल्ला भित्रिएकालाई अव्यवस्थित ढङ्गले राखिएको छ । विद्यालयको एउटै कोठमा २० जनासम्मलाई कोचेर राखिएको छ । एउटै कोठमा कोचिएर बस्नु परेपछि उनीहरुमा त्रास बढेको छ ।

‘हामीमध्ये कसैमा भाइरस थियो भने सबै सङ्क्रमित हुने भयौँ,’ काठमाण्डाैबाट घर फर्किएर विद्यालयको भवनमा राखिएका राज लिम्बूले भन्नुभयो ।

काठमाण्डाैबाट घर आएकाहरुको स्वास्थ्य परिक्षणसमेत गरिएको छैन । स्वास्थ्य परिक्षणका लागि जिल्लामा किटको अभाव रहेको हुनाले परीक्षण गर्न नसकिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु सापकोटाले बताउनुभयो । मङ्गलबार साँझसम्ममा काठमाण्डाैबाट किट आइपुग्ने र त्यसपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिने उहाँको भनाइ छ ।

जिल्लासँग समन्वय नगरि काठमाण्डाैबाट मान्छे पठाउँदा समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभएको छ । जिल्लाका आठै पालिकामा गरी जम्मा दुई सय चार शय्याको क्वरेण्टीन क्षमता छ । तर अहिले चार सय ७७ जनालाई क्वरेण्टीनमा राख्नुपर्ने स्थिति रहेको छ । क्वरेण्टीनको क्षमताले नभ्याएपछि काठमाण्डाैबाट आएकालाई विद्यालयको भवनमा राखिएको जिल्ला समन्वय समितिका प्रमुख सापकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया